झापामा फोहोरबाट बायोग्यास निकाल्न यस्तो योजना , एक वर्षमा सञ्चालनमा आउने दाबी

झापामा फोहोरबाट बायोग्यास निकाल्न यस्तो योजना , एक वर्षमा सञ्चालनमा आउने दाबी

लीलाराज झापाली

विर्तामोड, वैशाख ८ गते । झापाको कनकाई नगरपालिकामा फोहोरबाट बायोग्यास निकाल्न नवीकरणीय ऊर्जा कम्पनीको शिलान्यास गरिएको छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला कम्पनीको उक्त बायोग्यास प्लान्टको शनिबार अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गर्नुभयो ।

कनकाई नगरपालिका–२ सुकेडाँगीमा रहेको सो बायोग्यास कम्पनी एक वर्षमा सञ्चालनमा आउने दाबी गरिएको छ । १६ करोड ७० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न हुने योजनाको ४० प्रतिशत रकम विश्व बैङ्कबाट अनुदान सहयोग उपलब्ध हुने र बाँकी ३० प्रतिशत स्थानीय जनताको सेयर तथा ३० प्रतिशत कनकाई नगरपालिका, विर्तामोड र अर्जुनधारा नगरपालिकाबाट सङ्कलन गरिने भएको कम्पनीका प्रबन्ध निर्देशक दीपक चापागाईंले बताउनुभयो ।

कम्पनीले सो क्षेत्रको करिब चार बिघा जमिन खरिद गरेर कम्पनी स्थापना गरी हाल भवन निर्माण सुरु गरेको छ । कम्पनीको उत्पादन सुरु भएपछि यस क्षेत्रका नौ सय घरधुरीमा पाइपलाइनबाटै ग्यास पु¥याइने छ । यसका साथै दैनिक दस टन अर्गानिक मल उत्पादन गर्नेसमेत प्रबन्धक चापागाईंले बताउनुभयो ।

yubraj

बायोग्यास प्लान्टको शिलान्यास गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा । तस्बिर : लीलाराज झापाली

यसका लागि कम्पनीले कनकाई, विर्तामोड, अर्जुनधारा र थप झापाका नगरपालिका गरी पाँच नगरपालिकाबाट उत्पादित फोहोरलाई ग्यास र मल उत्पादनमा प्रयोग गरिने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो ।
बायोग्यास प्लान्टको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले अबका दिनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच कुनै प्रतिस्पर्धा नहुने तर स्थानीय र प्रदेश सरकारबीच भने कसले राम्रो काम गर्ने भन्नेमा तीव्र प्रतिस्पर्धा हुने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले २५ वर्षपछिको नेपाल कस्तो हुने भन्ने दीर्घकालीन लक्ष्यसहितको पञ्चवर्षीय योजना सार्वजनिक गरेर काम सुरु गरिसकेको बताउनुभयो ।

नवीकरणीय ऊर्जामा महिलाको पहुँच भए मात्र गृहिणीले चुलोमा आगो झोस्ने काम गर्ने छैनन् भन्दै उहाँले सरकारले आयतीत एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै लैजाने र बायोग्यासको उत्पादन र प्रयोगमा प्रोत्साहन गर्ने नीति अख्तियार गरेकोसमेत जानकारी गराउनुभयो ।
मन्त्री खतिवडाले विगतमा सरकारी पक्षबाट धेरै ठूला गल्ती भएको बताउँदै अब ती नदोहो¥याउने प्रतिबद्धता जनाउनुभयो । हामीले दाताले दिएका पैसासमेत काम नगरेर फर्केर गएको, दाताले पैसा दिएर तयार गरिएको फोहोर व्यवस्थापनकै परियोजना पनि हाम्रै स्वार्थ नमिलेर फर्किएर पनि गएको भन्दै तर अब यस्ता गल्ती नगरिने उहाँले बताउनुभयो ।
मन्त्री खतिवडाले सरकारले अब अनुदानलाई थप व्यवस्थित बनाइने र बजेटको योजना बनाउँदा लोकप्रिय कार्यक्रम र आम नेपालीलाई फाइदा पुग्ने कार्यक्रम समेट्ने तयारी गरिरहेको बताउनुभयो । झापामा चिया मजदुर र सञ्चालकबीच चाँडो संवाद सुरु गरी यसको दीर्घकालीन समस्याको समाधान खोजिने बताउनुभयो ।

कार्यक्रममा सांसद एलपी साँवा, सांसद पवित्रा निरौला, प्रदेश सांसद हीरा थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना, विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरालगायतले बायोग्यास प्लान्ट स्थापना स्वागतयोग्य भएको भन्दै पहिले प्रधानमन्त्रीले घरघरमा पाइपबाट ग्यास पु¥याउने उद्घोष गर्दा खिल्ली गर्ने समूहलाई यस बायोग्यास कम्पनी गतिलो उदाहरण बन्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्