विराटनगर, १९ बैशाख । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले ऐन कार्यान्वयन हुनेमा ढुक्क रहन आग्रह गरे । राजनीतिक संक्रमण अन्त्य भैसकेको बताउँदै उहाँले कानुन र प्रशासनिक संक्रमण यथावत रहेकोले कार्यान्वयनमा केही ढिलाई भएको स्पष्ट पारे ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रचलित कानुन परिपालना गर्ने बताउँदै यदि कुनै उद्योगी, व्यवसायीले नगरेको पाइएमा जानकारी गराउन आग्रह गरे । उनले प्रचलित कानुनको विपक्षमा मोरङका उद्योगी, व्यापारी नरहेको बताए । रोजगारदाता र श्रमिकबीचको सहसम्बन्धले मात्र काम गर्न सहज हुने घिमिरेको भनाई छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले उद्योगी र श्रमीक सहयात्री भनिए पनि व्यवहारत लागू हुन नसकेको बताए । यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव जगत सिंखडाले मजदुरहरुका लागि सीप केन्द्र संचालनमा ल्याउनुपर्नेमा जोड दिए ।
श्रमिक सम्मन
१३० औं श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले दुइजना श्रमिकलाई सम्मान गरेको छ ।
उद्योग संगठनले रघुपति जुट मिल्स लिमिटेड र अरिहन्त मल्टी फाईबर्समा ३९ बर्ष श्रम सेवा दिनुभएका बूढीगंगा गांउपालिका ४ का बमबहादुर सुवेदी र विराटनगर जुट मिल्समा ३६ बर्ष श्रम सेवा दिनुभएकी विराटनगर १५ की लक्ष्मी तामाङलाई सम्मान गरेको हो ।
संगठन परिसर तीनपैनीमा आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आयोजक संस्थाका अध्यक्ष भीम घिमिरेले दुवैजनालाई नगद ११ हजार १ सय ११ रकम र कदरपत्रसहित सम्मान गरे ।
सो अवसरमा बोल्नुहुंदै मन्त्री घिमिरेले देसको आर्थिक समुन्नतिकानिम्ति उद्योगी र श्रमिक बिचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्ने आवश्यक रहेको बताए । उनले ७ दशकको संघर्षबाट नेपाली जनता अधिकार सम्पन्न भैसकेको बताए । अबका सबै कृयाकलाप आर्थिक समृद्धि र समाजवाद उन्मुख हुनुपर्ने बताए । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगि र श्रमिकबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताए ।