कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको एक हजार नाघ्याे

कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको एक हजार नाघ्याे

एजेन्सी, २१ बैशाख ।  इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगोमा गएको अगस्टदेखि इबोला महामारी फैलिएको हो । जारी महामारी कंगोको इतिहासमा दोस्रो भयानक इबोला महामारी हो । कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणमा लिनका लागि भइरहेका प्रयासहरु अविश्वास र हिंसाका कारण समस्या भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का उप–निर्देशक डा. माइकल रायनले बताएका छन् ।

गएको जनवरी यता कंगोमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीमाथि ११९ वटा आक्रमण भएको डा. रायनले जानकारी दिए । स्वास्थ्यकर्मीसँग खोप प्रसस्त रहे पनि हिंसाका कारण समस्या भइरहेको छ । अहिलेसम्म स्वास्थ्यकर्मीले एक लाख जनामा खोप लगाइसकेका छन् । कंगोसहित पश्चिम अफ्रिकी देशमा सन् २०१३ देखि २०१६ सम्म फैलिएको इबोला महामारीका कारण ११ हजार ३१० जनाको ज्यान गएको थियो ।

कंगोमा अहिले दादुराको महामारी पनि फैलिएको छ । दादुराका कारण पनि एक हजार जनाको ज्यान गएको छ । ५० हजारमा संक्रमण भएको छ । देशका २६ मध्ये १४ राज्यमा दादुराको महामारी फैलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्