भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण हुन सकेन

भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण हुन सकेन

संखुवासभा, २५ बैशाख ।  एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण नहुँदा आवतजावतमा समस्या भएको छ ।

संखुवासभाको तुम्लिङटार मनकामना हुर्दै मुख्यमन्त्री राईको गृहजिल्ला तर्ने लम्सुवाघाटको पुल निर्माण नहुँदा भोजपुरवासीले डुङ्गामा बाँधेर जोखिमपूर्ण रुपमा सवारीसाधान ट्याक्सी तारेका छन् । भोजपुर र संखुवासभाका स्थानीयहरु यसरी नै जोखिमपूर्ण रुपमा यात्रा गर्ने गरेका छन् । वर्षातको समयमा डुङ्गामा आवतजावत गर्दा खोला बढेर समस्या हुने गरेको स्थानीयहरुको दुखेसो छ ।

२०६७ सालमा लम्सुवाघाटको पुलको तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नु भएको थियो । तर यो मोटर गुडाउने पुल नौ वर्ष बित्दा ३० प्रतिशत मात्रै काम भएको छ भने पुलको लम्बाइसमेत ८२ मिटर छोटो रहेको छ ।

१३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिए पनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै यो पुलको लागत १६ करोड ६३ लाख पुर्‍याइएको छ ।

१ सय ६५ मिटर लम्बाइ रहेको यस पुलको निर्माण कार्य नहुँदा पुलसँगै जोडिने ९० मिटरको अर्को खण्डको पुलको ठेक्का लागाउन सकिएको छैन । खोलाको बहाव बढेपछि पुलको लम्बाइ नपुग्ने भएको हो । अब नयाँ ठेक्का लगाएर ८२ मिटर थप गरी २ सय ४७ मिटरको बनाउनु पर्ने सडक डिभिजन तुम्लिङटारका प्रमुख कृष्णराज अधिकारीले बताए ।

नौ वर्षको अवधिमा ७ वटा पिलर मात्र ठड्याइएको छ । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरेपनि पिलर राख्ने र खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले काम छोडेको थियो । स्वच्छन्द निर्माण कम्पनी खुला मञ्चको सार्वजनिक जग्गा भाडामा लगाउने मनोज भेटवालकै हो । पटक–पटक विभिन्न बहाना बनाएर उनको कम्पनीले पुल निर्माण कार्यमा ढिलाइ गरिरहेको छ ।

लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाइन परिर्वतन गरेर समय पनि थपिएको थियो । ०७० असार २५ सम्ममा काम सक्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थप गरिएको थियो । ठेकेदारले यसरी थपिएको समयभित्र पनि निर्माण आयोजना सम्पन्न गर्न सकेन । त्यसपछि एक वर्षका लागि म्याद थप गरे पनि काम सम्पन्न गर्ने छाँटकाँट देखिएको छैन ।

करोडौँ रुपैयाँको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिक सास्ती भोग्न बाध्य छन् । गाउँ वारि र पारि देखिए पनि पैदल घुमेर हिँड्दा घण्टौँ लाग्ने गरेको स्थानीयहरुको गुनासो छ । हिउँदको समयमा जोखिमपूर्ण डुङ्गाको सहारा लिए पनि बर्षातको समयमा  डुङ्गाको यात्रा पनि जोखिम हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्