कनकाई नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रकाे विजाेग, सालनाल सुत्केरीकै झोलामा

<span class='c1'>कनकाई नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रकाे</span> <span class='c2'>विजाेग, सालनाल सुत्केरीकै झोलामा</span>

बिर्तामोड, ३ जेठ ।  सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन गएकी थिएँ। हिँड्ने बेला प्लास्टिकमा हाल्दै घरमै लगेर पुर्नू भनेर सालनाल पनि दिए’, कनकाई–३ की टीका विश्वकर्माले भनिन्, ‘सुरुमा त छक्क परें। स्वास्थ्य संस्थाको यो हालत देखेर दुःख पनि लाग्यो।’

केन्द्रमा महिनामा सरदर १० महिला सुत्केरी हुन्छन्। तर, फोहोर पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था छैन। त्यस्तो व्यवस्था गर्न नसक्दा सालनाल झोलामा हालेर घर पठाउने गरिएको केन्द्रकी प्रसूति विभागमा कार्यरत खुश्वु सिवाले बताइन्। ‘फोहोरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्र र केन्द्र आसपास गर्न सकेका छैनौं’, उनले भनिन्, ‘सालनाल गाँड्ने वा जलाउने स्थान पनि नभएकाले झोलामा हालेर पठाउनु हाम्रो बाध्यता हो।’

यो स्वास्थ्य केन्द्र सुविधासम्पन्न अस्पतालका रूपमा सञ्चालनको तयारी छ। तर, केन्द्रको व्यवस्थापन भद्रगोल छ। अस्पतालबाट सालनाल घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो रिसाउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ‘स्वास्थ्य केन्द्रमा नष्ट गर्ने सुविधा छैन। उहाँहरूलाई दिनु हाम्रो पनि रहर होइन, बाध्यता हो’, स्वास्थ्यकर्मी उषा सुवेदीले भनिन्, ‘उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी चुपचाप बस्नुपर्ने बाध्यता छ। यो काम ठीक होइन भन्ने लाग्दालाग्दै पनि हामीसँग उपाय केही छैन।’

उनका अनुसार पहिले थोरै महिला सुत्केरी हुन आउँदा केन्द्रकै डम्पिङ साइटमा जलाउने गरिएको थियो। त्यसको गन्ध गाउँघरमा पुग्दा स्थानीयले विरोध गरेपछि सुत्केरीलाई दिएर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको स्टाफ नर्स सरस्वती मास्केले बताइन्।

केन्द्रमा प्रसूति गराउने सुविधा दिए पनि त्यसको व्यवस्थापनमा जनप्रतिनिधिले चासो नदिएको स्वास्थ्यकर्मी बताउँछन्। ‘स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ’, केन्द्रकी इन्चार्ज डा. सच्चु थापाले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिइएको छ।’ स्थानीय सरकारले यस विषयमा नसुनेको र सालनालजस्ता फोहोरजन्य वस्तु व्यवस्थापनमा वास्ता नगरेको उनको भनाइ छ। सिरिन्ज डढाउने इन्टिनेटरका साथै सालनाल नष्ट गर्ने कन्टेनर अभाव हुँदा वातावरण दूषित बन्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ।

नगरपालिकाका स्वास्थ्य संयोजक पोषराज त्रितालले केन्द्रका विषयमा आफूलाई केही जानकारी नभएको बताए। ‘पछि बुझौंला’, उनले भने। सञ्चालक समितिको बैठक महिनामा एकपटक बस्छ। स्वास्थ्य केन्द्रका समस्याका विषयमा चिकित्सकसहित स्वास्थ्यकर्मीले राखेका विषय सुनुवाइ भए पनि कार्यान्वयन भएको छैन। केन्द्र व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कनकाई–३ का वडाध्यक्ष रुद्र चिमरियाले स्वास्थ्य केन्द्र नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन हुने बताए।  रविन भट्टराई/अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्