त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही, उत्तीर्णको मार्कसिटमा पटक–पटक ‘तारा’

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही, उत्तीर्णको मार्कसिटमा पटक–पटक ‘तारा’

काठमाडौं, ५ जेठ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ ।

मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् । ६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ । देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एक-दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन ।

त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ । पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता कायमै छ । पनिकाको सेवा प्रवाहमा आउने अर्को समस्या हो, अतिशय लापरबाही । पनिकाले तयार गर्ने मार्कसिटमा कसैको नाम गलत टाइप भएको हुन्छ, कसैको रजिस्ट्रेसन नम्बर छुटेको हुन्छ त कसैको प्राप्तांकमै त्रुटि भेटिन्छ । त्यस्ता त्रुटि सच्याउन लाइन बस्नेहरू बग्रेल्ती भेटिन्छन् । पीडित विद्यार्थीका अनुसार आफैंले गरेको त्रुटि सच्याउन पनिकाले थप दस्तुर लिन्छ र थप समय खर्च गरिदिन्छ । आपूmले गरेको त्रुटिमा सामान्य माफी पनि नमाग्ने र थप दुःख दिने यस्तो सेवाप्रवाह प्रणाली सम्भवतः विश्वमै यही मात्रै भएको सरोकारवालाको दाबी छ ।

ट्रान्सक्रिप्ट निकाल्दा केही विद्यार्थीहरूको नाम र थर नै बिग्रिएर आउने गरेको छ भने केहीको उत्तीर्णाङ्क नै तल माथि परेर आउने गरेको छ । कतिपय विद्यार्थीको नाम, ठेगाना नै फरक पर्ने गरेको छ । उत्तीर्ण विद्यार्थीहरूको पनि नतिजा अनुत्तीर्ण भएर आउने गरेको छ । जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । पनिकाको गैरजिम्मेवारीपन र बेवास्ताका कारण ट्रान्सक्रिप्ट निकाल्न विद्यार्थीहरूले १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

सास्ती नै सास्ती : ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेस्टर २०७५ मा उत्तीर्ण गरे । तर, उनको नतिजामा दुईवटा तारा लागेर आयो । २०७४ साउनमा नियमितअन्तर्गत दोस्रो सेमेस्टर दिएका शर्मा तीनवटा विषयमा पहिलोपटक अनुत्तीर्ण भए । शर्माले भने,‘ दोस्रोपटक परीक्षा दिँदा उत्तीर्ण भएको हँु । तर, तीनवटै विषयमा दुई-दुईवटा तारा लागेर आएको छ । म एकदम चिन्तित छु ।’

यस्तै दाङका केशव रावत पनि स्नातक तह उत्तीर्ण गरेर ट्रान्सक्रिप्टका लागि पनिका पुगे । तर, रावत हुनुपर्नेमा मार्कसिटको लेजरमा रावल भनेर आयो । केशव भन्छन्, ‘मैले कुनै पनि हेलचेक्र्याइँ गरेको छैन । तर, के गर्नु नाम नै फरक परेछ ।’
पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत रविना खड्काले नतिजा चित्त नबुझेपछि रिटोटलिङ (पुनर्योग)का लागि निवेदन दिइन् । रिटोटलिङ गर्दा रबिनाको ग्रेड बढेर गयो । अन्ततः ट्रान्सक्रिप्ट निकाल्दा पुरानै नम्बर चढेर गयो ।
यस्तै, त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर तह उत्तीर्ण नवीन पोखरेलको ट्रान्सक्रिप्टमा बिग्रिएर आयो । नवीनले भने, ‘मेरो ट्रान्सक्रिप्टमा बिग्रिएर आएको छ । अझै पनिकाले एक महिना पर्खन भनेको छ ।’
ट्रान्सक्रिप्ट लिन पनिका पुगेका विकास बस्नेतले भने, ‘के गर्नु कहिले उता जा त कहिले यता जा भन्छन् । झर्केर मात्रै बोल्छन् । एक महिना भयो, मेरो ट्रान्सक्रिप्ट निस्कन सकेको छैन ।’ विद्यार्थी परीक्षा नियन्त्रण कार्यालयमा ट्रान्सक्रिप्ट निकाल्न पुग्दा धेरैको केही न केही बिग्रिएको देखिन्छ ।

मुस्कानसहितको सेवा भने पनि पनिकामा त्यसो नभएको गुनासो अधिकांश विद्यार्थीकोे छ । तर, पनिकाका पदाधिकारीहरूले गुनासो गर्न पुगेका सेवाग्राहीलाई उल्टै गल्ती देखाउने गरेको बताइएको छ ।

कर्मचारी–विद्यार्थी भनाभन

आवश्यक कागजपत्र कार्यालयभित्रै हराउने गरेको विद्यार्थीको दाबी छ । तर, कर्मचारीले विद्यार्थीकै गल्ती भएको आरोप लगाउँछन् । काम हुने बेलामा कर्मचारी–विद्यार्थी दोषारोपण गर्दै गलफत्ती गरिरहेको भेटिन्छ । कतै झगडा नै गर्छन् । कर्मचारीले राम्रोसँग बोल्दैनन् । सोधपुछ कक्षमा विद्यार्थीले केही जानकारी पाएपछि पनि झुक्किन्छन्, उनीहरू । कर्मचारीलाई सोध्दा राम्रोसँग भनिदिँदैनन् । रुखो स्वरमा जवाफ दिइरहेको सुनिन्छ, जताततै । विद्यार्थी रनभुल्लमा परेर निन्याउरो अनुहार लिएर टोलाइरहेका भेटिन्छन् । विद्यार्थी आफ्नै कारणले दुःख पाइरहेको बताउँछन्, पनिकाका कर्मचारी । उनीहरू भन्छन्, ‘फर्म भर्दा ध्यान दिँदैनन् । आफू नआई अरूलाई पठाउँछन् । यही कारण विद्यार्थीले बारम्बार दुःख पाइरहेका छन् ।’ छात्राको विवाहपछि थर परिवर्तन हुँदा समस्या थपिएको कर्मचारीको दाबी छ । दैनिक १२ देखि १५ सय सेवाग्राही पनिका आउने गरेको अनुमान छ ।
आमसेवाग्राहीलाई उच्च शिक्षा आर्जन गरेको खुसी प्रदान गर्नुपर्ने पनिका सास्ती–शाखा भएको छ । तर, कुनै पनि तर्कले सेवाग्राहीको सेवा पाउने अधिकार कुण्ठित हुनुहुँदैन । उच्च शिक्षा प्रदान गर्ने देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले अब पनि आफूलाई सास्ती–शाखाका रूपमा राखिरहन मिल्दैन । पनिकाले तुरुन्त सेवामैत्री भई आफ्नो छवि सुधार्नुपर्छ । यसबारे पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्