भारतीय लोकसभा चुनाव अन्तिम चरणकाे मतदान आज, मोदीकाे क्षेत्र वाराणसीमा सबैकाे चासो

भारतीय लोकसभा चुनाव  अन्तिम चरणकाे मतदान आज, मोदीकाे क्षेत्र वाराणसीमा सबैकाे चासो

एजेन्सी, ५ जेठ । भारतीय लोकसभा चुनावअन्तर्गत साताैं तथा अन्तिम चरणकाे मतदान आज सुरु भएकाे छ। स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ।

अन्तिम चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र बिहारसहित ७ राज्य र एक केन्द्र शासित राज्यमा ५९ सिटका लागि मतदान हुँदैछ। उत्तर प्रदेश र पन्जाबमा १३/१३ सिट, बिहार र मध्य प्रदेशमा ८/८  सिट, पश्चिम बंगालमा ९, हिमाञ्चल प्रदेशमा ४, झारखण्डमा ३ र केन्द्र शासित राज्य चन्डिगढमा एक सिटका लागि मतदान हुँदैछ।

अन्तिम चरणकाे चुनाव प्रचारलाई लिएर केही नाटकीय घटना भएकाे बिबिसीले लेखेकाे छ। कोलकातामा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहकाे रोड शोकाे दौरानमा हिंसा भड्किँदा चुनाव आयोगले अनुच्छेद ३२४ काे प्रयाेग गर्नुपरेको छ। पश्चिम बंगालमा ९ स्थानका लागि हुँदै गरेकाे चुनावलाई लिएर १६ मेकाे रातमा नै चुनाव प्रचारमा राेक लगाई शून्य समय सुरु गरिएकाे थियाे।

लोकसभा निर्वाचनकाे आजकाे मतदानमा करिब १० करोड मतदाता सहभागी हुनेछन्। भने ९ सय ९ उम्मेदवार चुनावी मैदानमा छन्।

को-को छन् भिआइपी अनुहार?‍

आजको चुनावलाई लिएर विश्वकाे ध्यान वाराणसीमा केन्द्रित भएकाे छ। वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीकाे चुनावी भाग्यकाे फैसला हुँदैछ। भाजपा उम्मेदवार माेदीका विरुद्ध भारतीय कांग्रेसका अजय राय र समाजवादी पार्टीकी शालिनी यादव चुनावी मैदानमा छन्।‍

उत्तर प्रदेशकाे गाजिपुर लोकसभा सिटका लागि केन्द्रीय मन्त्री मनोज सिन्हाकाे समेत आज भाग्यकाे फैसला हुँदैछ। समाजवादी पार्टी (सपा) र बुहजन समाजवादी पार्टी(बसपा)बीचकाे गठबन्धनका उम्मेदवार अफजाल अन्सारीले उनलाई कडा टक्कर दिने आँकलन गरिएकाे छ।

गोरखपुरमा भाजपाबाट रवि किशन शुक्ला, सपा-बसपा गठबन्धनका तर्फबाट रामभुआल निषाद र कांग्रेसका मधुसूदन तिवारी एकआपासमा प्रत्यासी छन्।

बिहारकाे पटना साहिब सिटका लागि भाजपाबाट केन्द्रीय मन्त्री रविशंकर प्रसादकाे भिडन्त कांग्रेस उम्मेदवार तथा चर्चित कलाकार शत्रुघ्न सिन्हाबीच हुँदैछ। कांग्रेसकी वरिष्ठ नेता तथा पूर्व लोकसभा अध्यक्ष मीरा कुमार बिहारकाे सासाराम क्षेत्रबाट कांग्रेसकी उम्मेदवार बनेकी छन्।

पन्जाब अमृतसर सीटमा केन्द्रीय मन्त्री हरदीप सिंह पुरी उम्मेदवार बनेका छन्। त्यस्तै गुरदासपुरमा अभिनेता सनी देओल र चन्डीगढमा किरण खेर चुनावी मैदानमा छन्। यी सबै भाजपाका तर्फबाट उम्मेदवार बनेका हुन्।

झारखण्डकाे महत्वपूर्ण मानिएकाे दुमका लाेकसभा सिटमा झारखण्ड मुक्ति मोर्चाका अध्यक्ष शिबु सोरेन चुनावी मैदानमा छन्।

कुन-कुन सिटमा हुँदैछ मतदान?

उत्तर प्रदेश- गोरखपुर, वारणसी, महाराजगञ्ज, कुशीनगर, देवरिया, बाँसगाउँ, घोसी, सलेमपुर, बलिया, गाजीपुर, चन्दौली, मिर्जापुर र रोबर्ट्गञ्ज।

बिहार- पटना साहिब, सासाराम, नालन्दा, पाटलिपुत्र, आरा, बक्सर, काराकट र जहानाबाद।

पश्चिम बंगालः कोलकाता दक्षिण, कोलकाता उत्तर, दमदम, बारासात, बशीरहाट, जयनगर, मथुरापुर, डायमन्ड हार्बर र जाधवपुर।

मध्य प्रदेश- इन्दोर, देवास, उज्जैन, मन्दसौर, खरगौन, खन्डवा, रतलाम र धार।

पन्जाब- गुरदासपुर, अमृतसर, जालन्धर, होशियारपुर, आनन्दपुर साहिब, लुधियाना, फतहगढ साहिब, फरिदकोट, फिरोजपुर, बठिन्डा, संगरुर, पटियाला र खडुर साहिब।

झारखन्ड- दुमका, राजमहल र गोड्डा।

हिमाञ्चल प्रदेश- शिमला, हमीरपुर, मन्डी र काँगडा।

चन्डीगढमा एक सिटका लागि चुनाव हुँदैछ।

लाेकसभा निर्वाचन ११ अप्रिलबाट सुरु भएकाे हाे। निर्वाचनकाे मतगणना भने २३ मेबाट सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्