सरोज ढुंगेल
काठमाडौँ, जेठ ६ गते ।
केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पु¥यायो ।
नुवाकोटका १० वर्षीय बालक सज्जन गिरी केही हप्ता पहिले टेकु अस्पतालको प्राङ्गणमा हाँस्दै लुटुपुटु गर्दै खेल्दै थिए । छेउमै बस्नुभएकी उहाँकी आमा भने निरास मुद्रामा हुनुहुन्थ्यो । चिकित्सकको परामर्श सुनेपछि छाराको केही दिनभित्रै मृत्यु हुँदैछ भन्ने आमालाई थाहा भयोे । बालकको तीन दिनपछि मृत्यु पनि भयो । छोराको मृत्युको पूर्व जानकारी पाएकी आमाको अवस्था कस्तो हुन्छ, शब्दमा लेख्न सक्ने विषय नै भएन ।
काठमाडौँका २५ वर्षीय अजय डंगोलको पनि त्यही समय रेबिजबाटै मृत्यु भयो । काठमाडौँको धनी परिवारका डंगोलको घरमा छोराछोरीलाई पालनपोषण गरेझँै एउटा कुकुर पालिएको थियो । एक दिन गेट खुला भएपछि एकैछिन कुकुर बाहिर गएको थियो । कुकुरलाई रेबिजको सुई पनि लगाउने गरिएको थियो । एकै छिनपछि कुकुर आयो । त्यसको केही दिनपछि कुकुरले डंगोललाई झम्टेर टोक्यो । कुकुरले कहिल्यै त्यस्तो व्यवहार गर्दैनथ्यो ।
डंगोलको खुट्टामा सानो घाउ पारेपछि डंगोलले मुङ्ग्राले पिट्दा कुकुरको मृत्यु भयो । आफ्नै परिवार झैं पालेको कुकुर मारेपछि डंगोललाई खिन्न लाग्यो । विस्तारै डंगोललाई रेबिजको लक्षण देखाप¥यो । टेकु अस्पताल लगेको केही दिनमै डंगोलको पनि मृत्यु भयो । यी घटना प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ ।
कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पु¥याएको छ ।
सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा।वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताउनुभयो । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उहाँको भनाइ छ ।
डा।पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताउनुभयो । जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पु¥याइरहेको हुन्छ ।
डा। पाण्डेले मर्नुअघि पनि रेबिज लागेको व्यक्तिलाई आफू मर्दैछु भन्ने प्रस्ट थाहा हुने भएकाले बोल्दाबोल्दै, हिँड्दाहिँड्दै मृत्यु हुने गरेको बताउनुभयो ।
टेकु अस्पतालमा तीन महिनाअघि मात्र दुई महिनाको बीचमा चारजनाको रेबिजबाट मृत्यु भएको थियो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले वार्षिक ५० जनाभन्दा बढीको मृत्यु रेबिज रोगका कारण हुने गरेको जानकारी दिनुभयो ।
उहाँले आइतबार र बुधबार रेबिजको सुई लगाउन तीन सयभन्दा बढी व्यक्ति आउने गरेको जानकारी दिनुभयो । अझै पनि रेबिजले मानिसको मृत्यु हुनु अत्यन्त दुःखद विषय हो, डा। पुनले भन्नुभयो, “रेबिजविरुद्ध एउटा सुईले मानिसलाई बचाउन सकिन्छ तर कुकुरले टोकेको त हो नि भनेर बस्दा ज्यान गइरहेको छ । उहाँले अस्पतालमा ल्याउने कतिपय बिरामीले चिकित्सकको परामर्श सुन्ने बित्तिकै उपचार नगरी बिरामीलाई घरमा लाने गरेको घटना पनि सुनाउनुभयो ।
रेबिज लागेको कुकुरको टोकाइबाट मानिसमा रेबिज सर्ने भन्दै उहाँले यसबाहेक स्याल, न्याउरीमुसा, चमेरा र अन्य रेबिज ग्रसित स्तनधारी पशुको टोकाइबाट यो रोग सर्ने जानकारी दिनुभयो । डा। पुनले रेबिज लागेमा बहुलाएको जनावरको ¥याल, चोटपटक लागेको वा आलो घाउमा पर्न गएमा नटोके पनि रेबिज सर्ने भन्दै सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
रेबिज लागेको कुकुर वा अन्य पशुले उत्तेजक वा लाटो दुई प्रकारका लक्षणहरू देखाउने भन्दै पुनले रेबिज लागेको कुकुरको सुरुमा बानी व्यहोरामा परिवर्तन आउने बताउनुभयो ।
बोलाएको नसुन्ने, भनेको नमान्ने, अँध्यारोमा बस्ने, बिनाकारण झम्टने, रिसाउने, ¥याल काढ्ने, तल्लो बङ्गारा झुण्डाउने, पुच्छर लुकाएर बेजोडले दुगुर्ने, जिब्रो लतार्ने र पक्षघात हुने रेविजका लक्षण हुन् । रेविज लागेको लक्षण देखा परिसकेपछि तीनदेखि सात दिनभित्र पशु वा मानिसको मृत्यु भइसक्छ । डा। पुनका अनुसार समयमै सुई नलगाई रेविजको लक्षण देखा प¥यो भने मानिसको मृत्यु निश्चित छ ।