भारतमा फेरि मोदी ! मत सर्वेक्षणमा भाजपाकै बहुमत देखियो

भारतमा फेरि मोदी ! मत सर्वेक्षणमा भाजपाकै बहुमत देखियो

नयाँ दिल्ली, जेठ ६ । भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् ।

सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २८० देखि ३०० सिट जित्ने अनुमान गरेका छन् ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितजस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ । मतगणना भने आगामी बिहीबारबाट हुने छ ।

चुनावअघिका मत सर्वेक्षणहरुले भने कुनै पनि गठबन्धनले बहुमत नल्याउने प्रक्षेपण गरेका थिए । गत अप्रिल ११ देखि सुरु भएर डेढ महिनासम्म चलेको चुनावमा सत्तारुढ गठबन्धनले राष्ट्रिय सुरक्षा र राष्ट्रवादको मुद्दालाई अघि सारेको थियो भने विपक्षीहरुले रफाल लडाकु खरिद प्रकरण, किसान समस्या, बेरोजगारी, नोटबन्दी, जीएसटी र हिन्दू अतिवादलाई प्रमुख मुद्दा बनाएका थिए ।

चुनावलाई मोदी सरकारको विगत पाँच वर्षको कामकारबाहीको परीक्षाका रुपमा हेरिएको थियो । ५ वर्षअघि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एक्लै २७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सीमित भएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्