प्रदेश नं १ का मुख्यमन्त्री भन्छन “अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै”

प्रदेश नं १ का मुख्यमन्त्री भन्छन “अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै”

ओखलढुङ्गा, जेठ ६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् ।

रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भने, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ । समय केही लाग्ला तर सबै प्रकारका गरिबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ ।’

मुलुकको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले मुलुक समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तीन दिनको यहाँको बसाईंपछि राजधानी फर्किएका मुख्यमन्त्री राई यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको  सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी भएका थिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्