१ नम्बर प्रदेश सरकारले बिर्सियो गणतन्त्र दिवस

१ नम्बर प्रदेश सरकारले  बिर्सियो गणतन्त्र दिवस

विराटनगर, १५ जेठ । आज १२ औं गणतन्त्र दिवस। २०६२/०६३ सालको जनआन्दोलनपछि स्थापित भएको अन्तरिम संसदले २०६३ साल जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र नेपालको घोषणा गरेको थियो।

उक्त दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेको भए पनि १ नम्बर प्रदेश सरकारले भने गणतन्त्र दिवसको अवसरमा एउटा वक्तव्य पनि जारी गर्न सकेन। विभिन्न चाडपर्व र सन्दर्भमा अडियो, भिडियोसहित शुभकामना दिने मुख्यमन्त्री शेरधन राईले पनि यस वर्षको गणतन्त्र दिवस बिर्सिएको देखियो। प्रदेश सरकारको तर्फबाट गणतन्त्र दिवसको अवसरमा भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिसदको कार्यालयको आयोजनामा मंगलबार र बुधबार छुट्टाछुट्टै सरसफाइ कार्यक्रम भयो।

त्यो पनि जनताले थाहा पाउने गरी भन्दा आफ्नै मन्त्रालय परिसरमा सरसफाइ गरिएको हो। तत्कालीन ७ राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतिको आधारमा राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा ०६२/०६३ मा विशाल जनआन्दोलन भयो। १९ दिनसम्म चलेको आन्दोलनका क्रममा २६ जनाले सहादत प्राप्त गरे। त्यसअगाडि माओवादी आन्दोलनमा १४ हजार बढीले गणतन्त्र प्राप्तिकै लागि भन्दै जीवन उत्सर्ग गरे। उपलब्धि नेपालमा राजतन्त्र अन्त्य भयो र संघीय गणतन्त्रात्मक व्यवस्था लागू भयो। अहिलेको संघीय संरचना वा तीन तहको सरकार, समावेशी लोकतान्त्रिक गणतन्त्रको यात्रा त्यही आन्दोलनको उपलब्धि हो। राज्यका संरचनामा आमूल परिवर्तन गरियो।

तर, सोही आन्दोलन र गणतन्त्रको उपलब्धि स्वरूप आएको प्रदेश सरकारले भने  गणतन्त्र दिवसको अवसरमा कुनै समारोह पनि गर्न सकेन। कतिपय विश्लेषकले सरकारले गणतन्त्रको महत्व बुझ्न नसक्नुको रुपमा यसलाई लिएका छन्। ‘अहिलेको सरकारले अमृत के हो भन्ने नै चिनेन,’ प्राध्यापक बाबुराम तिम्सिनाले भने, ‘अमृतलाई पिउनुपर्नेमा भुइँमा खसाल्ने काम भएको छ, यसले प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीलाई कमजोर बनाउँछ।’ गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले १ नम्बर प्रदेशसभा भवन परिसरमा शुभकामना आदनप्रदान तथा चियापान समारोहको आयोजना गर्‍यो। उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सभामुख, प्रदेश प्रमुखदेखि थुप्रै सांसद, उद्योगी व्यवसायी, संचारकर्मीको पनि उपस्थिति थियो। तर, सत्तारुढ संसदीय दल वा सरकारले गणतन्त्रलाई महत्व नदिएकोले आफूहरूले गणतन्त्र दिवस मनाउनु परेको कांग्रेसका सांसद शेखरचन्द्र थापाले बताए।

‘हामीले नै ज्यान हत्केलामा राखेर जनताको साथमा लिएर गरेको आन्दोलनबाट प्राप्त उपलब्धीलाई जोगाउन सरकारले गणतन्त्र दिवस मनाउनु आवश्यक थियो,’ उनले भने, ‘त्यही आन्दोलनको जगमा उभिएका हामीले गणतन्त्र दिवसलाई बिर्सियौं भने राम्रो हुँदैन।’ सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङले भने मुख्यमन्त्री आकस्मीक रुपमा काठमाडौं जानुपर्ने भएकोले कुनै औपचारिक समारोह गर्न नसकिएको बताए। उनले आफूहरूले गणतन्त्र दिवसलाई उपेक्षा नगरिएको पनि बताए।

‘गणतन्त्र दिवसलाई उपेक्षा गरिएको होइन, हामी प्रि बजेट छलफलमा छौं, त्यसलाई एक दिन स्थगित गरेर यो दिवस भव्य रुपमा मनाएको भए पनि हुनेथियो,’ उनले भने, ‘तर, मुख्यमन्त्री आकस्मिक काठमाडौं जानुपर्ने भएको कारण त्यसअनुसार भएन, हामीले गणतन्त्र दिवसलाई नजरअन्दाज गर्न खोजेको होइन।’

प्रदेशसभामा प्रि बजेट छलफल पनि चलिरहेको छ। सरकारले वा नेकपा संसदीय दलले नै गणतन्त्र दिवस भुल्ने हो भने यसका उपलब्धी जोगिरहन नसक्ने कतिपयको भनाइ छ। मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले गणतन्त्र दिवस बनाउने विषयमा फलफूल वितरण र सरसफाई लगायतका कार्यक्रम गर्ने निर्णय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्