विराटनगर, १६ जेठ ।
समाजमा आफ्नो जन्मदिनमा सामाजिक काम गर्नेक्रम बढ्दै जान थालेको छ ।
पछिल्लो समय युवा पुस्तामा सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना शुरु भएको हो ।
त्यही क्रममा यस बर्षको जन्मदिन मनाउन युवा ओसिम आलम बृद्धाश्रम तथा बालबालिका भएको ठाउँमा पुगेका छन् । पुष्पलाल चोकमा रहेको महिला जागृति बृद्धाश्रममा पुगेर बृद्धाहरुको सम्मान गर्दै उनीहरुलाई फलफुल तथा कपडा बितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
बृद्धाश्रममा रहेका आमाहरुलाई साडी तथा फलफुल बितरण गरेको आलमले आवर बिराटनगरलाई जानकारी दिए । बिभिन्न होटलमा गएर गरिने खर्चलाई सामाजिक क्षेत्रमा लगाउँदा आफुलाई सन्तुष्टी मिल्ने भएकोले यो बर्षको जन्मदिन बृद्धाश्रममा गएर बनाएको आलमले बताए ।
त्यस्तै पुष्पलाल चोकमा रहेको खोला किनारका सुकुम्वासीका बालबालिकालाई निःशुल्क पढाउँदै आएका युवाहरुको समुहलाई समेत आलमले सहयोग गरेका छन् । स्थानीय युवा पेरिस सुबेदी सहितका केही युवाहरुले सुकुम्वासी तथा गरिब समुदायका ४० जना बालबालिकालाई निशुल्क पढाउँदै आएको ४० दिन पुगेको छ । ति पढ्न आएका बालबालिकालाई समेत स्कुल ब्याग र खाजा उपलब्ध गराएर आलमले जन्मदिन मनाएका हुन् ।