विराटनगर,२० जेठ । घरेलु टोली मोरङले १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा आइतबार भएको फाइनल खेलमा खेलमा काठमाडौं बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ बहिरा क्रिकेट संघले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ थालेको मोरङले ९ ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा ६८ रन बनायो । ६९ रनको लक्ष्यका साथ मैदानमा उत्रेको काठमाडौंले ९ ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा ६३ रनमै समेटियो । प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि मोरङका मोहमद साबिर र रुपन्देहीका होमबहादुर केसीले समान रुपमा प्राप्त गरे । त्यसैगरी बेष्ट बलर झापाका जसोदर साह र बेष्ट ब्याट्समेन काठमाडौका अजय कर्ण घोषित भए । प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि वर्षाका कारण खेल स्थागित भएपछि टस बाट विजेताको निर्णय गरिएको थियो । रुपन्देही र झापाबीचको टसमा झापाले टस जितेर तेस्रो स्थान हुँदै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली , पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवाराज कटवाल, राष्ट्रिय बहिरा क्रिकेट संघ सरयुप्रसाद शेरचनलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, कास्की, रुपन्देही, दाङ, बाँके र काठमाडौंको सहभागिता रहेको थियो ।