चाँदनी हमाल
काठमाडौँ, जेठ २७ गते । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।
नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । “मनसुन आउने क्रममा छ,” मौसमविद मन्जु बासीले भन्नुभयो, “मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।” मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ । “अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,” अर्का मौसमविद समिर श्रेष्ठले थप्नुभयो, “सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।”
उहाँका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलङ्का पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताउनुभयो ।
भारतहुँदै नेपाल आउँदै गरेको मनसुन तस्बिर : हिमवारी स्याटलाइट, स्रोत मौसम पूर्वानुमान महाशाखा
“यसबेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ,” श्रेष्ठले थप्नुभयो, “त्यस स्थानमा भारतको मध्यक्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बंगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।” जलवाष्पयुक्त उच्चचापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिनेगर्छ ।
यसवर्ष पूर्र्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यसवर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १, २, ३, ४ र ५ मा वर्षा कम हुन सक्छ । त्यही अनुसार किसानलाई जानकारी दिने तयारी भइरहेको नार्क स्थित कृषि वातावरण विभागका कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिनुभयो । “यतिबेला धानको बिउ राख्ने बेला हो,” उहाँले थप्नुभयो, “मनसुनको आगमनको संकेतसँगै बिउ राख्न भनिएको छ । कुलो भएका स्थानका किसानले बिउ उमारिसकेका छन् ।”
मनसुन फोरमको पूर्वानुमान ध्यान दिई कम पानी परेमा र पानी नपरेको खण्डमा लगाउने छरुवा धानका बिउ सङ्कलन गर्न पनि किसानलाई तयारी अवस्थामा राखिएको छ । छरुवा धानले तातो खपेर सुक्खा क्षेत्रमा उत्पादन दिन सक्छ ।
उहाँका अनुसार पहिले हुँदै नभएको दीर्घकालिन पूर्वानुमान अहिले हुन थालेपछि केही सहज भएको छ । तर त्यसले किसानलाई अझै पूर्ण रूपले सघाउन सकेको छैन । “धान रोप्ने बेला पानी नपरी अन्य बेला परे पनि त्यो पूर्वानुमान सही हुन्छ,” उहाँ प्रष्ट्याउनुहुन्छ, “तर किसानको खेतीका लागि मनसुन र कुन सिजनका बेला कहाँ, कति वर्षा हुन्छ भन्ने खालको पूर्वानुमान चाहिन्छ ।”
उहाँका अनुसार किसानको बुझाइ पनि मनसुनका बारेमा प्रष्ट छैन । मनसुन भन्नासाथ पानी परिरहने भन्ने बुझाइ छ । तर कुनै क्षेत्र वर्षा हुने र कुनैमा नहुन सक्छ भन्ने बुझाउन कठिन छ । मनसुन हावा बहने दिशासँग जोडिन्छ । अझ मनसुन कमजोर र बलियो हुने प्रणालीका बारेमा किसानलाई जानकारी छैन । यसको मेसो मिलाउन नै नार्कले वातावरण र मौसम विभागको स्थापना गरेको हो ।
त्यसैले कम्तीमा १५ दिनसम्मको मौसमी जानकारी दिन सकियो भने किसानका लागि थोरै सहज हुने रिमाल बताउनुहुन्छ ।
उहाँले भनेझै गोरखा पालुङटारका किसान अगुवा खोपबहादुर कँडेलले किसानले वर्षे धान रोपाइ गर्न चैते धान काटेर खेतका माटाका डल्ला फोड्न थालिसकेका छन् । बिउ, बिजन, मलखाद जुटाउन थालिसके ।
“आकाश हेर्दा यो वर्ष वर्षा राम्रै होला जस्तो देखिन्छ,” कँडेलले भन्नुभयो, “तर मौसम पूर्वानुमानले के भन्छ त्यो सुन्न बाँकी छ ।” त्यही अनुसार किसानले काम गर्ने उहाँ सुनाउनुहुन्छ । “खेत रोपेपछि खडेरी प¥यो भने काम हुन्न त्यसैले अघि नै खडेरीको जानकारी पाए उत्पादन राम्रो हुनसक्छ ,” उहाँले भन्नुभयो ।
विभागले कृषि व्यवस्थापन सूचना प्रणाली परियोजना नै सञ्चालन गरी किसानलाई मौसमको जानकारी बाँडिरहेको परियोजनामा आवद्ध कृषि मौसमविद् समी अधिकारीले बताउनुभयो । “प्रत्येक हप्ता कृषि मौसम सल्लाह सेवा बुलेटिन बनाउँछौँ”, उहाँले भन्नुभयो, “एसएमएस, मोबाइल एप्स, वेवसाइट र रेडियोबाट पनि मौसमको बारेमा किसानलाई भनिरहेका छौँ ।” उहाँका अनुसार आउँदो शुक्रबार औपचारिक रूपमा किसानलाई मनसुनको जानकारी दिने तयारी छ । मौसम पूर्वानुमान महाशाखाको विवरण कुरेर बसेको उहाँले बताउनुभयो ।
परियोजनाले खेती बढी हुने २५ जिल्लाका लागि काम गरिरहेको छ । हालसम्म ३५ हजार बढी किसानलाई एसएमसबाट मौसमी जानकारी पठाइएको छ । एकहजार दुई सय किसान समूहले प्रत्यक्ष जोडिएर सेवा लिइरहेका छन् ।
कृषि सूचना प्रशिक्षण केन्द्रको २०७५ को एक प्रतिवेदन अनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मनसुनी खेती हुने गर्छ । खेती नगरिएको तर खेती लगाउन योग्य जमिन अझै एक लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको छ । मनसुनको सही जानकारीको सही प्रयोग गर्ने हो भने कृषिले देशकै कुल गार्हस्थ उत्पादनमा थप योगदान दिनसक्ने विज्ञहरू बताउँछन् ।
वि.सं. २०६८ को जनगणना अनुसार कृषि पेशामा देशको कुल जनसंख्याको ६५.६ प्रतिशत मानिस सहभागी छन् । मनसुनको सिजनमा नेपालमा लगाइने खाद्यान्न बालीमा धान, मकै, कोदो विशेष हुन् । यी बाहेक मौसमी तरकारी, फलफूल, दलहन, तथा हिमालमा जौ, फापर लगायतका बाली लगाइन्छ ।
विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा कृषि क्षेत्रको योगदान पाँच प्रतिशत रहने छ । कृषि क्षेत्रमा यो उत्साहजनक वृद्धि हुने भएकोले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । त्यसका लागि अनुकूल मौसम, सिँचाइ, बिउ, मलखाद आदिका क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग गर्ने जनाइएको छ ।