अमेरिकाको चेतावनीपछि हुवावेको बिक्री ४० प्रतिशतले घट्यो

अमेरिकाको चेतावनीपछि हुवावेको बिक्री ४० प्रतिशतले घट्यो

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन्। रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो।

हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई वर्ष कम्पनीले करिब ३० खर्ब डलर बराबरको उत्पादन कटौती गर्ने जनाए। उनले भने, ‘हो, हुवावेको बिक्री ४० प्रतिशतले गिरेको हो।’

रेनका अनुसार चिनियाँ बजारमा भने मोबाइलको बिक्री यथावत् नै छ। हुवावेले सन् २०१८ मा २० करोड ६० लाख मोबाइल बिक्री गरेको थियो। जसमध्ये आधा चीनमा र आधा अन्तर्राष्ट्रि बजारमा बिक्री भएका थिए। गतमहिना अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको थियो।
उक्त निर्णयसँगै हुवावेले अमेरिकामा व्यापार तथा सहकार्यका लागि अनुमति लिनुपर्ने हुन्छ।

उक्त कदम अमेरिकी बजारमा चिनियाँ कम्पनीको व्यापार विस्तार रोक्ने रणनीतिका रूपमा समेत लिइएको छ । हुवावेको फाइभ–जीलगायत प्रविधि अमेरिका र चीनबीच जारी व्यापार विवादको प्रमुख जड हो। अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ।

त्यसका साथै अमेरिकाले हुवावेको ‘फाइभ–जी’ प्रविधि कुनै पनि राष्ट्रका लागि सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको दाबी गर्दै निकटस्थ राष्ट्रलाई जडान नगर्न आग्रह गर्दै आएको छ । योसमाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्