प्रकृति अधिकारी
काठमाडौँ, असार ९ गते । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?”
तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन ।
त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पु¥याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे । यता ‘हाफ टाइम’को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो । त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो । दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो ।
दरबारका पूर्वकर्मचारी जयराम महर्जनले त्यो बेलाको दृश्यलाई यसरी स्मरण गर्नुभयो, “छोटो दूरी थियो, त्यसैले ल्याउन सजिलो हुने भएकाले प्रायः जयनेपाल सिनेमा हलबाट रिल ल्याइन्थ्यो । कर्मचारीहरू सतर्क अवस्थामा रहन्थे । सिनेमा हलमा रिल सकिनासाथ दरबारतिर ल्याइन्थ्यो । ”
वि.सं. २०२६ मा बनेको नारायणहिटी दरबारभित्रको हलमा ५४ वटा कुर्सी र पाँचवटा सोफा राखिएका छन्् । सोफामा तत्कालीन राजपरिवारका महŒवपूर्ण सदस्य मात्र बस्न पाउँथे । धूलो पर्ने भएकाले अहिले ती सोफा छोपेर राखिएका छन् भने अन्य कुर्सी त्यत्तिकै छन् ।
दरबारका अर्का पूर्वकर्मचारी रोहित ढुङ्गानाले उपत्यकाका सिनेमा हलबाट प्रायः ‘नाइट सो’का रिल ल्याउने गरिएको सुनाउनुभयो । “प्रायः राति सिनेमा हेर्ने भएकाले नाइट सोमा चलिरहेका सिनेमाका रिल ल्याइन्थ्यो”, उहाँले थप्नुभयो, “बढीजसो मुमाबडामहारानी रत्नले हेर्ने गर्नुहुन्थ्यो । रानी ऐश्वर्यले पनि हेर्नुहुन्थ्यो तर राजा वीरेन्द्रले कमै हेर्नुहुन्थ्यो । २०४६ सालपछि वीरेन्द्रले एक÷दुई पटक मात्र हेर्नुभयो । ”
प्रायः हिन्दी सिनेमा हेर्ने गरिन्थ्यो । नेपाली कमै बन्थे, त्यसैले कमै हेरिन्थ्यो । शुक्रबार आयोजना हुने पारिवारिक भोजपछि सिनेमा हेर्ने प्रायः चलन हुन्थ्यो । सिनेमा जसका तर्फबाट आयोजना गरिन्थ्यो, उसका पाहुना बढी हुन्थे । तत्कालीन राजा वीरेन्द्रका पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप रानाले लेख्नुभएको ‘दरबारको दुःखान्त’ पुस्तकमा सिनेमा हलबारेमा पनि उल्लेख गर्नुभएको छ, “दरबारको थिएटरमा पाएसम्म नेपाली फिल्म हेरिन्थ्यो, नपाए हिन्दी फिल्म पनि देखाइन्थ्यो । भारतले २०४५ सालमा नाकाबन्दी लगाएपछि भने त्यहाँ हिन्दी सिनेमाको प्रदर्शन लगभग बर्जित भयो । ”
तत्कालीन मुमाबडामहारानी रत्नलाई हिन्दी सिनेमा बढी हेर्नुपर्ने भएकाले २०४५ सालपछि उहाँका लागि हिन्दी सिनेमा प्रदर्शन गरिन्थ्यो भने राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रायः अङ्ग्रेजी सिनेमा हेर्न रुचाउनुहुन्थ्यो । भिडियो क्यासेटको प्रचलन बढेपछि सिनेमा हलबाट रिल ओसारेर हेर्ने क्रम बन्द भएको एडीसी रानाले पुस्तकमा उल्लेख गर्नुभएको छ ।
दरबारका अर्का पूर्वकर्मचारी गोपालराज भण्डारीका अनुसार सिनेमा हलमा चिया–कफीसम्म खाने गरिन्थ्यो । सिनेमा हलको प्रोजेक्टर बिग्रँदा बाहिरका सिनेमा घरका प्राविधिकलाई बोलाएर मर्मत गरिन्थ्यो ।
नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठले बाहिरका सिनेमा हलमा प्रदर्शन गर्नुअघि नै कतिपय सिनेमा सुरुमै दरबारमा हेर्ने गरिन्थ्यो भन्दै थप्नुभयो, “सिनेमा हलमा श्वासप्रश्वासमा समस्या आउन सक्ने र भित्र प्रवेश गर्ने एउटा मात्र ढोका भएकाले अवलोकनकर्तालाई आउजाउ गर्न कठिनाइ हुने हुँदा त्यसलाई खुला गर्न सकिएको छैन । यसका लागि समय लाग्छ । ”