इन्डोनेसियाको पूर्वी भेगमा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

इन्डोनेसियाको पूर्वी भेगमा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता, असार ९ गते । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ ।

पपुवामा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो ।

भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ । यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ ।

गत वर्ष ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

(रासस / एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्