सगरमाथामा ६० वर्षदेखिको फोहोर : सरकारी निकायको ‘दुःख’ अर्कै !

सगरमाथामा ६० वर्षदेखिको फोहोर : सरकारी निकायको ‘दुःख’ अर्कै !

काठमाडौं, ११ असार । सगरमाथामा फोहोर बढेको भनेर अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुन थालेपछि नेपालका सरकारी अधिकारीहरुले भने फोहोरको विषयमा केही समस्या भएको स्वीकार गरेका छन् ।

नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘हामीले सकेसम्म सफाई गरिरहेका छौं । तर, हिउँले पुरिएको बेलामा फोहोर देखिँदैन । हिउँ पग्लेको बेलामा हामीले उठाइरहेका छौं । हालै मात्रै पनि उठाइएको हो ।’’

उनले सकारात्मक ढंगले अन्तर्राष्ट्रिय मिडियामा आएका कुरालाई स्वीकारेर सोहीअनुसार सच्याउन सकिने भएपनि कतिपय कुरा त्यत्तिकै फैलाइँदा त्यसबारेमा केही भन्न नसकिने जनाए । हालै प्रधानमन्त्री केपी शर्मा ओली बेलायत गएको बेलामा पनि लियाजो अफिसर नै सगरमाथा क्षेत्रमा नगएको भनेर सोधिएको प्रश्नमा पनि आपत्ति जनाए ।

‘‘बीबीसीले पनि गलत कुरा सोध्यो, उहाँहरुले सोधेजस्तो होइन । केही मानिस बिरामी भएर सगरमाथा क्षेत्रमा नजानु अर्कै कुरा हो । तर, जाँदै नगएको भन्ने होइन । उनीहरुले त्यहाँ हाजिर नै गरेका छन्,’’ उनले भने ।

बीबीसीले प्रधानमन्त्री ओलीलाई ६० जना लियाजो अफिसर खटिएकोमा  पाँचजना मात्रै गएको भनेर प्रश्न सोधेको थियो । महानिर्देशक घिमिरेले भने,‘‘३७ जना खटाइएकोमा बीबीसीले रिपोर्टिङ्ग गरेको बेलामा २२ जना त्यहाँ हाजिर भएका थिए । तर उहाँहरुले कम देखाउनुभयो । त्यो गलत छ । २२ जनाले त्यहाँ हाजिर गरेकै देखिएको छ । अरु केही भने कोही बिरामी भएर र केही अन्यत्रै खटिएकाले त्यतिबेला नभएका हुन् ।’’

मंगलबार फक्स न्यूजले एशोसिएट्स प्रेस(एपी) को समाचार प्रकाशित गर्दै सगरमाथा ‘खुला शौचालय’ भएको जनाएको थियो । त्यसैगरी त्यहाँबाट पग्लेको हिउँ नै तल्लो भागमा जाने र तल्लो भागमा रहेका मानिसलाई स्वास्थ्य समस्या पनि भएको जनाएको थियो । महानिर्देशक घिमिरेले भने,‘‘६० वर्ष अघिदेखिकै फोहोर पनि सगरमाथामा हुन सक्छ । तर, हिउँ पग्लिएपछि मात्रै देखिने भएकोले देखिएपछि हामीले सफा गर्ने गरेका छौं । अरु बेला देखिँदैन । अहिले पनि चौथो शिविरमा बाहेक अन्यत्र फोहोर नभएको शेर्पाहरुले बताएका छन् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्