प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफल जारी

प्रदेशसभामा  विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर,१६ असार ।   प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यंग्य  प्रस्तुत गरे।

जिल्लामा सत्ता पक्षका सांसदहरूले योजनाको पोको लिएर जाँदा आफूहरू टुलुटुलु हेरेर बस्नु परेको भन्दै उनले असन्तुष्टि जनाए। ‘जिल्लामा सत्ता पक्षका माननीयज्यूहरूले फेसबुकमा मेरा यति योजना पर्‍यो उति पर्‍यो भनेर लेख्नुभएको छ’, दनुवारले भने, ‘हामीलाई पनि हाम्रा जनताले तपाइँले के योजना ल्याउनु भयो भनेर सोद्धा हाम्रो पनि त्यही हो भन्ने वा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था बनेको छ।’  आफूहरूले प्रदेशका विभिन्न मन्त्रालयमा दिएका एउटा पनि योजना बजेटमा नपारिएको भन्दै दनुवारले सरकारलाई ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ भन्दै चेतावनी दिए। ‘यसो उसो भन्दै २ वर्ष टार्नुभयो।

अब ३ वटा यस्तै उस्तै गरी टार्ने तयारी सरकारको हो?’, दनुवारले भने, ‘हामी ताली पड्काउने मात्रै हौं। हो भने सरकारले घोषणा गरोस् तपाइँहरू अहिले चुप बस्नुहोला, हामी मात्रै खान्छौं भनेर।’ दनुवारले सत्तापक्षले आफ्नो हातमा डाडु पन्यूँ छ भन्दैमा अरुलाई देखाइ देखाइ खानु नहुने पनि बताए। ‘पहुँच हुने, फूर्तिफार्ती देखाउने, तडकभडक गर्नेलाई बजेट तथा कार्यक्रम दिइएको छ’, उनले प्रश्न गरे, ‘सत्तापक्षका माननीयज्यूहरूलाई यिनीहरूलाई पनि दिउँ भन्ने लाग्छ कि लाग्दैन?’ उनले आफूजस्ता अल्पसंख्यक समुदायका जनप्रतिनिधिका योजना कुनै पनि समावेश नभएको गुनासो पनि गरे।  छलफलमा भाग लिँदै सांसद रामकुमार राईले बजेट तथा कार्यक्रमले पहाड उपेक्षित भएको र संघीयताको मर्म विपरित भएको भन्दै असन्तुष्टि जनाए। खोटाङबाट निर्वाचित सत्तारुढ दलकै सांसद समेत रहेका राईले कर्मचारी भत्ता, प्रशिक्षण, तालिम, गोष्ठी र भ्रमणको नामबाट छुट्याएको बजेटको औचित्य के भनी प्रश्न समेत गरे। ‘हस्पिटल बनाउने तराईमै भनिएको छ। पर्यटनको बजेट यतै राखिएको छ।

सडक तथा ठूला आयोजनाहरू सबै तराइमै केन्द्रीत गरिएको छ’, उनले भने, ‘पहाडमा कसरी रोजगारीको सिर्जना गर्ने र बसाइँसराई रोक्ने भन्ने विषयमा बजेटले ध्यान दिनुभन्दा पहाड खाली गराउने गरी कार्यक्रम आयो।’

यस्तै सांसद राम रानामगरले समाजवादको आधार तयार गर्ने हो भने शिक्षा र स्वास्थ्यलाई सोही अनुसार बजेट तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए। उनले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने, स्वास्थ्य क्षेत्रमा भएको अस्वाभाविक व्यापारीकरणको अन्त्य गर्नुपर्ने, आयुर्वेदिक स्वास्थ्य पद्धतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

सांसद शान्ता पौडेलले हालै प्रकाशित एसइईको रिजल्टले सरकारी विद्यालयको गुणस्तर कमजोर रहेको भन्दै ती विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग गरे।

विनियोजन विधेयकमाथिको छलफल सुरु हुनु अघि शून्य समयमा बोल्दै सांसद उपेन्द्र घिमिरेले सडकमा जथाभावी पार्किङ गएका सवारी साधनको उपर्युक्त व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले सडकमै पार्किङ गरिँदा सुन्दरतामा ह्रास आएको, दुर्घटनाको जोखिम बढाएको र सडकको दुरुपयोग भएको भन्दै पार्किङको व्यवस्था गरेर राजस्व संकलन गरिनुपर्ने बताए।

सांसद प्रतापप्रकाश हाङमाङले ताप्लेजुङको फाक्तालुङ ४ लेलेपमा गत वैशाख २९ गतेको असीना पानीले क्षतिग्रस्त बनेका १ सय ९० घर परिवारमा भोकमरी सिर्जना भएको भन्दै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचित प्रदेशसभा सांसदलाई बजेट छुट्याउँदा विभेद गरेको भन्दै विरोध पनि गरे। यस्तै सांसद शिवनारायण गनगाईले मोरङको सुनवर्षीमा सेफ्टी ट्यांकीभित्र निसास्सीएर मृत्यु भएका ४ जनाको परिवारलाई प्रदेश सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्