७ कक्षा फेल कृष्णदासकाे विद्यावारिधिमाथि प्रश्न ?

७ कक्षा फेल कृष्णदासकाे विद्यावारिधिमाथि प्रश्न ?

धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्षा सातमा फेल भएका कृष्णदासले कसरी पाँच–पाँच विषयमा आचार्य र विद्यावारिधि गरे भन्ने विषयमा उनकै नातेदारहरू आश्चर्यमा परेका छन् ।

कृष्णदासले भक्तजनलाई आफूले विभिन्न विषयमा आचार्य (स्नातकोत्तर) गरेको र पिएचडी (विद्यावारिधि) गरेको बताएर मूर्ख बनाउँदै आएको बेला यो वास्तविक तथ्य बाहिर आएको हो । उनकै नजिकका एक नातेदारले भने, ‘कृष्णदाससँग ७ कक्षाभन्दा बढी पढेको कुनै सर्टिफिकेट छैन ।’

कृष्णदासले भने दक्षिण भारतको चेन्नाईस्थित सेन्ट जोसेफबाट मेट्रिक गरेर वनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणमा आचार्य, ज्योतिष शास्त्रमा आचार्य, आयुर्वेदमा आचार्य, योग विद्यामा आचार्य, एमएस्सी र वनस्पति द्रव्यगुणमा जर्मनको पेन्सिलभेनिया विश्वविद्यालयबाट विद्यावरिधि गरेको दाबी गर्दै आएका छन् ।

०६५ सालदेखि नामको अगाडि डा. लेख्दै आएका कृष्णदासले सोलुखुम्बुको जुबु–१ मा रहेको स्थानीय विद्यालयमा कक्षा सात पनि पास गर्न नसकेपछि ०४९ सालदेखि विद्यालय जान छाडेका थिए । त्यसबेला उनको उमेर १८ वर्ष रहेको थियो । पाँच–पाँच विषयमा आचार्य र विद्यावारिधि गर्नु खेलाँची होइन ।

०६४ सालमा वराहक्षेत्रको चतरा नहरको पश्चिम किनारमा रहेको सुनसरी–मोरङ सिंचाइ आयोजनाको स्वामित्वमा रहेको जग्गामध्ये १२ बिघा ८ कठ्ठा १९ धुर जग्गा कब्जा गरेर भक्तजनकासाथ बस्दै आएका कृष्णदासले हालसम्म कुनै पनि विश्व विद्यालयमा पाइला नराखेको उनका एक नातेदारले बताए । ती नातेदारले भने, ‘यदि उनले आचार्य गरेका वा विद्यावारिधि गरेका भए ती विषयमा लेखेका लेख रचना, थेसिस अनुसन्धान–पत्रहरू पनि महत्वपूर्ण हुन सक्छन् । तर विश्व विद्यालय नै नगई र आचार्य वा विद्यावारिधि नै नगरेपछि कताबाट लेख रचना र थेसिस लेख्न सक्छन् ?’

कक्षा सातमा फेल भएपछि ०४९ सालमा घर छाडेर भारत गएका उनी आठ वर्षपछि ०५७ सालमा साधुको भेषमा घर फर्केका थिए । त्यसबेला नै उनले विभिन्न विषयमा आचार्य गरेको बताउने गरेका थिए । कक्षा सात फेल भएर घरदेखि निस्केको ८ वर्षमा विभिन्न विषयमा आचार्य गर्ने कुरा पत्याउने तर्क नभएको ती नातेदारले बताए ।

यसैगरी ०४९ सालमा कक्षा सात फेल भएका व्यक्तिले ०६५ सालमा विद्यावारिधि उपाधि पाएको भन्नु पनि अरुलाई मूर्ख बनाउनु बाहेक अरु केही नभएको ती नातेदारले बताए । उनले भने, ‘सामान्य हिसाब गर्दा कक्षा सात फेल भएपछि भारतको कुनै विद्यालयमा अध्ययन गर्नै परे मेट्रिक तहसम्म ४ वर्ष, प्लस टु गर्न दुईवर्ष, स्नातक चारवर्ष, रिजल्ट पर्खिन एक वर्ष, नियमित उत्तीर्ण गरेको अवस्थामा स्नातकोत्तर दुईवर्ष, थेसिस र रिजल्ट एकवर्ष, विद्यावारिधि अगाडि एमफिल दुईवर्ष, त्यसपछि विद्यावारिधिका लागि पाँचवर्ष समय लाग्छ । तर यहाँ उनले पढ्ने समय पुग्दैन ।’

अझ उनले त अरु चार विषयमा पनि आचार्य गरेको भनेका छन् । एउटै समयमा अरु चार विषयमा आचार्य गर्नु त झन असम्भव भएको उनले बताए । यो सबै धर्मको खोल ओढेर पाखण्ड प्रदर्शन गर्र्दै अरुलाई मूर्ख बनाउने काममात्र कृष्णदासले गरेको ती नातेदारले बताए ।

त्यति मात्र नभएर कृष्णदाससँग दुई नागरिकता भएको पनि उनले बताए । उनका अनुसार सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट ०४८ फागुन १२ गते बनाएको नागरिकतामा उनको नाम कृष्णबहादुर गिरी, जन्म मिति २०३० मङ्सिर १० गते, ठेगाना जुवु–१ रहेको छ भने ०६५ पुस १७ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिएको अर्को नागरिकतामा नाम श्रीवैष्णव कृष्णदास, स्थायी बासस्थान वराहक्षेत्र–१, जन्म २०३१ साल फागुन १९ गते रहेको छ । एक व्यक्ति फरक नाम र फरक जन्ममिति तर बाबु भने एउटै नाम उल्लेख गरेका छन् । एक व्यक्तिले फरक–फरक नामको र फरक–फरक जन्ममितिको नागरिकता लिन नेपालको कानूनअनुसार कसूरदार मानिन्छ । हाल प्रहरी सुरक्षाकर्मीसमेत दिइएको कृष्णदासले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्दैै आएका छन् ।

उनले सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गा कब्जा गरेर ८ करोड रुपैयाँको १ सय २८ कोठे भव्य भवन बनाएका छन् । आर्थिकरूपले सम्पन्न उनले भक्तजनलाई बस्न दिएबापत महँगो भाडा असुल्दै आएका छन् । कृष्णदासले घरनक्सा पास र निर्माण सम्पन्नको प्रमाण–पत्र भने कतैबाट पाउन सकेका छैनन् । कृष्णदाससँग यसबारे बुझ्न पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । उनको मोबाइल स्विचअफ थियो ।  आजको ब्लाष्ट टाईम्स  दैनिकले खबर लेखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्