विराटनगर महानगरपालिका मागलाई नधान्ने आन्तरिक आय

<span class='c1'>विराटनगर महानगरपालिका मागलाई</span> <span class='c2'>नधान्ने आन्तरिक आय</span>

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमान गरेको आय र ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल अनुमान गरेको व्यय अनुसारको खर्च र आम्दानी अर्धवार्षिक समिक्षासम्म आउँदा मेल खाँदैन । तर, महानगरपालिकाले चालु आर्थिक वर्षको लागि तय गरेको आय–व्ययको अनुमानलाई यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न गरेको छ ।

महानगरपालिकाको चालु आर्थिक वर्षको पूँजीगत खर्चको ग्राफ कमजोर देखिएको छ । नगर अधिवेशन हुँदासम्मको साढे पाँच महिनाको अवधीमा १४ करोड ४० लाख ६३ हजार पूँजीगत खर्च भएको तथ्यांक सार्वजानिक गरेको छ । जम्मा खर्च ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ भएको छ । समग्र बजेटको १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको महानगरपालिकाले ५५ करोड १३ लाख ७५ हजार प्रशासनिक खर्च भएको हो ।

चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको तथ्यांक उपप्रमुख शिल्पा निराला कार्कीले नगर अधिवेशनमा प्रस्तुत गरेकी थिइन् । अनुमान गरे भन्दा १५ प्रतिशत कम आय हुँदा समेत बजेट संशोधनमा भने अधिवेशनले ध्यान दिएन । चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो । त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएको थियो ।

महानगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम ढुंगेलले अनुमानित आय–व्ययसँग यथार्थ आयको मेल नखाएपनि कतिपय योजनाबाट तानिने रकमले त्यसको पूर्ति गर्ने दावी गरेका छन् । उनले पूर्वाधार निर्माणको सिजन सुरु भएपश्चात कतिपय योजनामा अनुमान गरेभन्दा कम कबोलमा सम्पन्न हुँदा त्यसबाट बचत हुने रकमले अन्य योजनालाई भरथेग गर्ने मनसाय महानगरपालिकाले राखेको छ । त्यसैलाई आधार बनाएर बजेटको फिगर नघटाई कार्यक्रमका शिर्षक मात्रै रुपान्तरण गरिएको उनको तर्क छ ।

साढे पाँच महिनासम्म १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै संकलन भएको विवरण अधिवेशनमा प्रस्तुत गरिएको थियो । तर, पछिल्लो १५ दिनमा आन्तरिक आय २६ करोड ४ लाख पुगेको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार गतवर्ष यसै अवधीमा २४ करोड ५७ लाख आन्तरिक आय थियो । ‘अहिले नै ठ्याक्कै कम भनिहाल्ने समय आएको छैन’ गौतमले भने–गतवर्ष भन्दा केहि सुधार हुने संकेत देखिएको छ ।

आन्तरिक आय मात्रै नभई विराटनगर महानगरपालिकाको राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ प्राप्त भएको छ । यो अनुमान गरे सरह नै मानिन्छ । अर्थात ५५ दशमलव ६२ प्रतिशत अनुदान संघीय सरकारबाट प्राप्त भईसकेको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको थियो ।

दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको कार्यकालमध्ये अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण भएको दावी गरिएको छ । नगर अधिवेशनमा प्रमुख नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्न चुनौतीपूर्ण देखिएको धारणा राखेका थिए । उनको यो औपचारिक बाहेक अनौपचारिक रुपमा समेत सार्वजानिक हुने धारणा यस्तै रहने गरेका छन् । अझै उनले कतिपयले योजना लिएर पुगे सधैं भन्ने गरेका छन्–पैसा नै छैन कसरी दिने ?

महानगरपालिकाले बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू छन् । यिनलाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पछिल्लो समय सिमेन्टमा भएको मूल्यबृद्धिले प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

त्यसैगरी बहुवर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा वीएफएम अगाडिको सडक हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले ७७ लाख लागतमा शहरमा ट्राफिक लाइट जडान गरेपनि त्यसको स्वामित्व भने लिईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्