प्रदेश सरकारद्वारा एक दर्जन स्रष्टा सम्मानित, न्यौपानेलाई १ लाख राशीको भाषा–साहित्य–कला सम्मान

प्रदेश सरकारद्वारा एक दर्जन स्रष्टा सम्मानित, न्यौपानेलाई १ लाख राशीको भाषा–साहित्य–कला सम्मान

विराटनगर, २९ असार । प्रदेश नम्बर १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरूलाई नगदसहित सम्मान गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गरेको हो । प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा ‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री एवं साहित्यकार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरेको छ । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर नगद १ लाख रुपैयाँ र सम्मानपत्र समर्पण गरे ।
प्रदेश–१ मा रहेर हरेक वर्ष भाषा–साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एकजना स्रष्टालाई प्रदान गर्ने गरी भाषाशास्त्री बालकृष्ण पोखरेलको नाममा सामाजिक विकास मन्त्रालयले पुरस्कारको स्थापना गरेको हो ।

एक दर्जनलाई नगद ५० हजार
कार्यक्रममा इनरुवा सुनसरीका साहित्यकार उपेन्द्र पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राममणि पोखरेल, इलामका विमल वैद्य, तेह्रथुमका रविमान लम्जेललाई नगद ५० हजारसहित ‘प्रदेश साहित्य–कला सम्मान’बाट सम्मानित गरिएको छ । त्यस्तै मोरङका मधु पोखरेल, विराटनगरका कलाकार भैरव क्षेत्री, विराटनगरका मैथिली भाषी साहित्यकार रामनारायण सुधाकर, संखुवासभाका मूर्तिकार चन्द्रमान लिंखा, मोरङका संगीतकार जेवी थुलुङ र सुनसरीका कलाकार विष्णुकुमार मोक्तानलाई पनि ५० हजार नगद राशिको प्रदेश साहित्य–कला सम्मान प्रदान गरिएको छ ।
मन्त्रालयले साहित्यकार बलराम पोखरेलको संयोजकत्वमा ८ सदस्यीय साहित्यकार–कलाकार सम्मान सिफारिस कार्यदल बनाएको थियो । कार्यदलले दिएको सिफारिसका आधारमा मन्त्रालयले सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित साहित्यकार प्रा.डा. न्यौपानेले प्रदेश सरकारले १३ जनालाई मात्रै नभएर आफूले समग्र प्रदेशभरिका स्रष्टालाई सम्मान गरेको महसुस गरेको बताए । “आज म लगायत १३ जना स्रष्टा सम्मानित भएका छौं,” उनले भने, “यो सम्मान प्रदेशमा बसेर भाषा, साहित्य र कलाको सेवामा समर्पित स्रष्टाको सम्मान हो भन्ने मैले महसुस गरेको छु ।”
कार्यक्रममा मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा परेको चर्चा गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार लागिपरेको बताए । “सामाजिक विकास मन्त्रालयले सडक, पुलपुलेसो बनाउँदैन,” उनले भने, “मन्त्रालयले मान्छे बनाउँछ । मन्त्रालयको क्षेत्र र काम बेग्लै भएकाले बेला–बेला मन्त्रालयले काम गरेन भन्ने टिप्पणी आउने गरेको छ । मन्त्रालयको काम भनेको स्वास्थ्य, शिक्षा, भाषा, साहित्य र खेलकुदको विकास गर्नु हो । सडक र पुल पुलेसा बनाउनुलाई मात्रै विकास भन्न सकिँदैन ।”
उनले यस वर्षदेखि सुरु भएको स्रष्टा सम्मानलाई हरेक वर्ष निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, महाशाखा प्रमुख दिव्यराज कट्टेल, कार्यदलका संयोजक बलराम पोखरेल, सदस्य तथा साहित्यकार मिश्र वैजयन्ती, निर्मला कोइराला, मीनकुमार नवोदित, शिवनारायण पण्डित ‘सिंगल’लगायतले प्रदेश सरकारले सुरु गरेको स्रष्टा सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्