काठमाडौ, ४ साउन । केही समयअघि ‘गलबन्दी’ गीतका कारण नेपाली संगीत क्षेत्रमा एकप्रकारको हल्लीखल्ली नै मच्चियो । शुरुमा गाउँघरको लोक जनजीवन पस्किएको कारणले गीत धेरै रुचाइयो र यूट्युबमा एक सातामै लाखौं पटक हेरियो । लामो समय ‘ट्रेन्डिङ’मा रह्यो । टिकटक प्रयोगकर्ताले अनेकौं क्लिप बनाए । जताततै ‘गलबन्दी’ सुनिन थाल्यो । तर, गीत बजारमा आएको केही दिनपछि पुराना गायक शम्भु राईले आफ्नो लय चोरिएको दाबी गरेपछि ‘गलबन्दी’ विवाद र चर्चामा रह्यो । यी सबै घटनाक्रममा गायक तथा गीतका सर्जक प्रकाशकै अनुहार देखियो । उनी विवाद र चर्चामा रहिरहँदा त्यही गीतसँग जोडिएको अर्को महत्वपूर्ण नाम भने गुमनामजस्तो रह्योे । नाम थियो— शान्तिश्री परियार । ‘गलबन्दी’ विवाद चुलिँदै जाँदा ‘बोल माया’ र ‘गलबन्दी’की गायिका शान्तिश्री देश र विदेशका कयौं सांगीतिक कार्यक्रममा व्यस्त थिइन् । कारण हो— शान्तिश्री आफूलाई ‘लो प्रोफाइल’मा राख्न रुचाउँछिन् ।
रोल्पाको विकट गाउँ र गरिब परिवारमा जन्मिएकी शान्तिश्री अहिले लोक गीत–संगीतको क्षेत्रमा पछ्याइने नाम हो । जीवनका अनेक आरोह–अवरोहमा विचलित नभई अनवरत संगीतकर्ममा लागेकैले उनी अहिले त्यसको फल चाखिरहेकी छन् । भोकै सुतेका कयौं रात र भोकले निद्रा नपरेका ओभाना आँखाले अहिले पनि उनलाई विचलित नहुन आड दिइरन्छन् ।
रोल्पाको दुर्गम गाउँ ह्वामामा जन्मिएकी शान्तिश्रीको बाल्यकाल अत्यन्त दुःखमा बित्यो । बिहान घरको सबै काम सकाएर विद्यालय जानुपथ्र्यो । बेलका स्कुलबाट फर्किएपछि बिहानका बाँकी काम गर्नु पथ्र्यो । आमालाई सघाउनु, पानी–पँधेरो गर्नु बाल्यकालमै उनको जिम्मेवारी बनिसकेको थियो ।
जग्गा–जमिनको नाममा रहेको केही सुर्को पाखो बारीबाहेक अरू कुनै आयस्रोतको उपाय थिएन । सात भाइबहिनी र बुवा–आमा गरी ९ जनाको परिवार । ठूलो परिवार भएकाले वर्षभरि खान र लगाउन पुग्ने अवस्थै थिएन । सधैंको दुःख र अभाव झेलेको शान्तिश्रीको त्यो बालमन छट्पटाएर आत्तिन्थ्यो । जीवन सधैं घस्रिँदै हिँड्ने झुसिल्कीराझैं लाग्थ्यो ।
तर, बादलमा चाँदीको घेरा भनेझैं उनी सुरिलो गाउँथिन् । सबैले प्रशंसा गरेपछि जीवनमा गायिका बनेर नाम र नाम कमाउने सपना साँच्न थालिन् ।
गाउँमा सन्तानले धेरै दुःख र अभाव झेलेपछि शान्तिश्रीका बुवाआमा सबै परिवार बोकेर सदरमुकाम लिबाङ झरे । चार छोरा र तीन छोरीसहित लिबाङ आएका बुवा¬–आमाले त्यहीँ सानो व्यवसाय गर्ने र सन्तान पढाउने योजना बनाएका थिए । यहीँबाट शान्तिश्रीको सपनाले बाटो समात्यो ।
सदरमुकामको बालकल्याण माविमा पढ्न थालेपछि उनले विभिन्न कार्यक्रममा गीत गाउने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्रम बाक्लियो । केही वर्ष सदरमुकामको अध्ययन र बसाइले शान्तिश्रीलाई आफ्नो सपना पूरा गर्न राजधानी जानु नै पर्छ भन्ने कुराले घोच्न थाल्यो । बुबा–आमाको साथ र सहयोगले यो पनि सम्भव भयो । ०६४ मा काठमाडौं छिरिन् शान्तिश्री ।
रोल्पाको विकट गाउँबाट आएकी शान्तिश्रीलाई काठमाडौंले राम्ररी स्वागत गरेन । उनलाई काठमाडौंले अभाव, दुःख र कष्टमात्रै दियो । तर, संगीतकर्मप्रतिको लगावलाई त्यो दुःखले जित्न सकेन । उनले संघर्ष गरिरहिन् । अभाव र दुःखसँगको लामो पौंठेजोरीपछि उनले पहिलो पल्ट ‘एकतर्फी माया’ बोलको लोकदोहोरी गीत बजारमा ल्याइन् । यो गीतले उनलाई आत्मसन्तुष्टि दियो । र, सँगै औपचारिक रूपमा लोकदोहोरी गायिकाको परिचय पनि ।
यो गीत बजारमा आएसँगै शान्तिश्रीको औपचारिक गायन यात्रा शुरु भयो । जीवनमा पहिलो पल्ट ०६८ सालमा भारतको सिक्किममा आयोजित एक सांगीतिक कार्यक्रममा मञ्च चढेर प्रस्तुति दिइन् । यसले उनको सांगीतिक करिअरलाई माथि चढायो । उनको लोकप्रियता बढ्यो ।
त्यसयता शान्तिश्रीले भारत, खाडी, मध्यपूर्व र युरोपका दुई दर्जनभन्दा बढी देशमा प्रस्तुति दिइसकेकी छन् । नेपालका ४५ भन्दा बढी जिल्लाका मञ्च तताएकी छन् । यसबीच उनले ६ सयभन्दा बढी लोकदोहोरी गीतमा स्वर पनि दिइसकेकी छन् ।
‘एकतर्फी माया’बाट शुरु भएको गायन यात्रा ‘बोल माया’ हुँदै ‘गलबन्दी’सम्म आइपुग्दा उनले नेपाली लोकदोहोरी गीतसंगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन् । शान्त रहने, सधैं मुस्कुराउने र मञ्च चढ्दा सधैं नेपाली पहिरनमा उपस्थित हुने शान्तिश्रीको परिचय हो । भन्छिन्, “अनुशासन र शालीनताबिना कुनै पनि क्षेत्रमा सफलता पाइँदैन । मैले जहिले पनि आफ्नो काम, अभिभावक, दर्शक, स्रोता र गुरुलाई सम्मान गरें र भगवानको रूपमा हेरें । शायद यही कारणले होला— आज रोल्पाको दूरदराज गाउँकी एक सामान्य केटीलाई देश–विदेशका लाखौं नेपाली दाजुभाइ, दिदीबहिनीले रुचाउनुभएको छ र यो सम्मान दिनुभएको छ ।”
समकालीन नेपाली लोकदोहोरी क्षेत्रमा केही गायक र गीतले सामाजिक जिम्मेवारी बहन गरेका होइनन् कि भन्ने उनको मनमा लागिरहन्छ । लोकदोहरी गीतले हरेक नेपालीको मौलिकपन र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उनको धारणा रोल्पा छाड्ने बेलामा पनि थियो, अहिले पनि छ । बाह्रखरीबाट