गरिखानेको कथा : सफल उद्यमी कस्मिरा १३ हजारको लगानीबाट तीन करोडको उद्योग

गरिखानेको कथा : सफल उद्यमी कस्मिरा १३ हजारको लगानीबाट तीन करोडको उद्योग

सिराजुद्दिन खान

नेपालगन्ज, साउन ५ गते ।  कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ । एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु प¥यो ।
कस्मिराको सफलताबाट जस्तोसुकै अवस्था आए पनि हरेश नखाई निरन्तर मेहनत गर्र्ने हो भने सफलता अवश्य प्राप्त हुने शिक्षा लिन सकिन्छ । नेपालगन्ज घरबारी टोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कस्मिराले घरमै पेटिकोट सिलाएर व्यवसाय सुरु गर्नुभएको हो ।
व्यापारको सिलसिलामा अर्घाखाँचीबाट नेपालगन्ज आउनुभएकी खातुनसँग १८ वर्षअघि साथमा एक कौडी पनि थिएन । उहाँले बल्लतल्ल ऋण काढेर १३ हजार रुपियाँ लगानीमा घरमै व्यवसाय सुरु गर्नुभयो । त्यही व्यवसाय फस्टाउँदै अहिले तीन करोड रुपियाँको लगानीमा विस्तार भएको उहाँ बताउनुहुन्छ ।
कस्मिराको लुम्बिनी गार्मेन्टले उत्पादन गरेका तयारी कपडा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगरलगायत साविकको मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा पुगिरहेका छन् । उद्योगमा अहिले धेरैले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, “म आफैँले पेटिकोट सिलाएर व्यवसाय सुरु गरेँ, अहिले ७० जनाले काम पाएका छन् । उद्योगले उत्पादन गरेको कपडाको माग बढिरहेकाले थप कामदार राख्नुपर्ने अवस्था छ । ”
कस्मिराले व्यवसाय आरम्भ गरेको सम्झँदै भन्नुभयो, “त्यति बेला एउटा पेटिकोट सिएबापत पाँच रुपियाँ र म्याक्सी सिएको १० रुपियाँ लिन्थेँ । दिनमा पाँच सय रुपियाँ कमाउन दर्जनौँ पेटिकोट सिलाउनुपथ्र्यो । त्यसका लागि दिनरात मेहनत गरेँ । ”
काम सानो भए पनि मेहनतले नै एक दिन सफल हुने विश्वास उहाँमा जाग्यो । “सिलाइको फिनिसिङ देखेपछि पेटिकोटको माग बढ्न थाल्यो । विस्तारै अन्य लुगाको पनि माग बढ्यो । ओभरलक मेसिन राखेपछि थप कमाइ हुन थाल्यो । सिउनका लागि कपडाको माग पनि बढ्यो”, उहाँले ती कठोर परिश्रमका दिन सम्झनुभयो ।
माग बढ्दै गएपछि बालबालिकाका लागि जाडोमा लगाउने कपडा बनाउने सोच भयो । त्यस्ता कपडा बनाउन सुरु गरेपछि ह्वात्तै माग बढ्यो । अरूको कपडा घरमा ल्याएर सिलाउँदा आम्दानी बढ्न थालेको उहाँ सम्झनुहुन्छ ।

कपडा बनाउन चाहिने कच्चा पदार्थ, धागो पहिले भारतबाट ल्याउनुपथ्र्यो । व्यवसाय बढ्दै गएपछि उहाँले नेपालगन्जमै कच्चा पदार्थ उत्पादन सुरु गर्नुभयो । नेपालगन्जमै कच्चा पदार्थबाट कपडा उत्पादन गर्ने लुम्बिनी गार्मेन्ट पहिलोे भएको उहाँको दाबी छ । अहिले कपडा बनाउन चाहिने कच्चा पदार्थ र धागोसमेत आफैँ उत्पादन गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
ग्राहकले लुगाको फिनिसिङ र डिजाइन मन पराएपछि अहिले देशभर लुगाको माग बढेको कस्मिरा बताउनुहुन्छ । अहिले उहाँसँग लुगा बनाउन कच्चा पदार्थ उत्पादन गर्ने ठूला छवटा मेसिन छन् । कपडा सिलाउने मेसिन २५ वटा छन् । चीनबाट ल्याइएको २० लाख रुपियाँ मूल्यको एउटा मेसिन र अन्य १६ लाख, १० लाख र आठ लाख रुपियाँ पर्ने मेसिन पनि छन् ।
हाल उहाँको गार्मेन्टबाट दैनिक करिब डेढ लाख रुपियाँ बराबरका कपडा उत्पादन भइरहेको छ । यहाँ जिन्सबाहेक स्कुल पोसाक, सबै तयारी कपडा र महिलाका लामा सुइट, अलादिन टप्स लगायतका सामग्री तयार हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्