अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुँदै

अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुँदै

वासिंटन, साउन १० । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो ।

महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् ।

बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएका उनीहरुलाई जेलमा राखिँदै आएको थियो । उनीहरुले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ ।

न्याय मन्त्रालयको यो घोषणाले राज्यद्वारा निर्देशित मृत्युदण्डको विरोधका रुपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ । संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपछि अघोषित रुपमा स्थगन गरेको थियो ।

सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनलाई पनि खारेज गरेको थियो । पछि सन् १९७६ मा सर्वोच्च अदालतको अर्को एउटा फैसलाले कतिपय राज्यमा मृत्युदण्डलाई पुनः खुला गरिदियो र सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरिदिएका थियो ।

मृत्युदण्ड सूचना केन्द्रले संकलन गरेको तथ्यांक अनुसार सन् १९८८ देखि २०१८ सम्म संघीय स्तरका मुद्दामध्ये ७८ जनालाई मृत्युदण्डको फैसला भए पनि हालसम्म ३ जनालाई मात्र दिइएको देखिन्छ । मृत्युदण्डको सूचीमा अझै ६२ जना मानिस छन् ।

महान्यायाधिवक्ताले पहिले मृत्युदण्ड दिने क्रममा तीनवटा विषालु औषधिको प्रयोग गरिने गरिएकोमा अब भने एउटै औषधि प्रयोग गर्न निर्देशन दिएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्