लखन्तरीमा बालविवाह रोक्न वडाअध्यक्षको अभियान

लखन्तरीमा बालविवाह रोक्न वडाअध्यक्षको अभियान

विराटनगर, १९ साउन। बाल विवाहमुक्त वडा घोषित हुन मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीमा निकै मेहनत पर्‍यो । सामाजिक संघसंस्थाको बलले मात्र यो काम सम्भव थिएन । जातीय रीतिरिवाजसँगै आदिवासी थारु समुदायको बहुल क्षेत्र हो लखन्तरी । सानो उमेरमा विवाह गर्नु कानुनी रुपमा बर्जित र दण्डनीय पनि हो । तर, ग्रामथान धेरै बाल विवाह हुने स्थानको रुपमा चिनिन्थ्यो ।

नमोनारायण माझी लखन्तरीमा परिवर्तनको सम्वाहक बनेर आए । विदेशमा थिए । यताबाट बोलावट आयो । पार्टीले वडाध्यक्षको जिम्मेवारी दिने टिकट सुरक्षित छ भन्ने खबर पठायो । उनी हान्निएर आए । चुनावमा उठे, जिते पनि । अहिले सफल वडाअध्यक्षमा दरिएका छन । बालविवाह रोक्ने अभियन्ताको पनि पहिचान बनाएका छन् ।
उनले भने, ‘‘जिम्मेवारी सम्हालेको कार्यकालको आधा जति हुन लाग्यो । पूरापुर समय जनसेवा र बालविवाह विरुद्धमा लगाएको छु भन्दा पनि हुन्छ ।’’सी थारु समुदायको बाहुल्य क्षेत्रको विकास, जनचेतना र राजनीतिक चेतको अभिवृद्धि माझीको प्रमुख जिम्मेवारी थियो । योबाहेक उनको परिचय अर्को एकक्षेत्रले पनि खोज्दै थियो ।  नमोनारायण अर्थात बाल विवाह रोक्ने लोकप्रिय जनप्रतिनिधि । उनले भने,‘‘मैले त राजनीतिलाई दाउमा लगाएर समुदायविरुद्ध उत्रनु पर्‍यो । बगावत नै गरें भन्दा पनि हुन्छ ।’’

साँच्चै नै उनको निकै चाखलाग्दो तर उतारचढावपूर्ण विगत छ । लखन्तरी पहिल्यै बालमैत्री घोषणा भएको तेतरिया गाविससमेत मिलेर बनेको ग्रामथान गाउँपालिकाको एक भाग हो । त्यसैले पनि यो वडाका बासिन्दा एक वर्षभित्र बालमैत्री घोषणाको चर्को दबाबमा थिए । तयारी पनि उत्तिकै भयो । माझी सम्झन्छन्,‘‘हामीले ३९ वटा सूचक पूरा गर्नुपर्ने चुनौति थियो । समय थियो २०७५ तर, वडालाई बालमैत्री घोषणा गर्ने काममा स्वयम् बालबालिका पनि सक्रिय थिए । यसले थप मद्दत पुग्यो ।’’ उनी हिजोआज किशोरकिशोरी, बालबालिका र समुदायका अभिभावक नै बन्न पुगेका छन् ।

नारी विकास संघ र वर्ल्ड भिजनको सहयोगमा संचालित बाल विवाह न्यूनीकरण अभियानलाई राज्यस्तरबाट माझीले सकारात्मक सहयोग गरे ।  उनी कहिले बालबालिकाको लागि संचालित रुपान्तरण कक्षामा आफैं पुगेर बालबालिकालाई पढाउन व्यस्त भए  । लखन्तरीको वीरेन्द्र माविमा हुने किशोर किशोरी कक्षामा पढाउन आफैं पुग्थे । आखिर मेहनतले रंग ल्याइछाड्यो ‘विवाह वारी २० वर्ष पारि’ भन्ने नाराले लखन्तरीमा सार्थकता पयो । सानै उमेरमा विवाह नगरिदिनुहोस भन्दै नमोनारायण गाउँका भित्रि भागमा पुग्दा धेरैले प्रश्न गर्दथे,‘‘के हाम्रो संस्कार सबै बिगार्न हामीले तिमीलाई चुनाव जिताएको हो ?’’ लखन्तरीमा सानो उमेरमा विवाह गर्नुलाई गाउँलेहरुले सामान्य रुपमा लिने गर्दथे ।

बाल सञ्जालका कारण बाल विवाहका घटना रोक्न मद्दत मिल्यो । टोलटोलका बाल क्लब गठन, महिला समूहको सक्रियता र अभिभावकमा आएको जनचेतनाले लैगिंक हिंसामा समेत कमी आयो । माझी आफैं महिला, बाल र अन्य समुदायको बैठकमा पुग्छन् अनि चेतना दिलाउन सक्रिय भए । नारी विकास संघकी कार्यक्रम अधिकृत सरिता अधिकारी माझी जस्तो सक्रिय जनप्रतिनिधिकै कारण बाल विवाह न्यूनीकरणको अभियान सार्थक बन्दै गएको बताउँछिन् ।

नारी विकास संघ र वल्र्डभिजनको सहयोगमा वडामा बाल क्लब गठनदेखि रुपमान्तरण कक्षा संचालन गर्ने काम सम्पन्न भए । २० वर्ष उमेर मुनि विवाह गर्न नहुने प्रतिवद्धतासंगै वडाले भव्य कार्यक्रम गरी लखन्तरीलाई बाल विवाह मुक्त घोषणा गत बैसाख ४ गरिदियो । अब गाउँपालिकालाई नै बाल विवाह मुक्त बनाउने अभियानमा बालश्रमिक रोक्ने, पूर्ण खोप, खुला दिसामुक्त भएसंगै अन्य संस्थागत सूचकतर्फ ध्यान दिएको माझी बताउँछन् । दुई वर्षमा लखन्तरीमा जम्मा १७ वटा बाल विवाह रोकिएको थियो ।

माझी २०५२ मा नेपाल विद्यार्थी संघको राजनीति गर्ने माझी महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचनमा पनि उठे । गुरुराज घिमिरे सभापति विजयी बने  तर कोषाध्यक्षमा माझी पराजित भए । आइएस्सी पढ्न क्याम्पस भर्ना भएका माझीमा राजनीतिप्रति निकै आकर्षण थियो । पछि स्थानीय निर्वाचनमा युवा अवस्थामै लखन्तरी गाविसको अध्यक्षमा विजयी भए । तर धेरै सम्पत्ति राजनीतिले नै सकियो । अंशमा पाएको जग्गा सिद्धियो । परिवार रिसाए । राम्रो मानेनन्  । घरायसी कारण नै डेढ दशक जति पैसा कमाउन खाडी भास्सिए स्थानीय तहको निर्वाचनमा बिदामा आएका बेला विजय गच्छदारसँग टिकट मागे । अर्का उमेदवारलाई बसाएर उनलाई उठाइयो । भारी मतले विजयी भए । भन्छन्,‘‘म त विदेश नै फर्कने सोचमा थिएँ तर फेरि राजनीतिले नयाँ जिम्मेवारी पाएँ । अहिले बाल विवाह रोक्ने अभियानले फेरि अर्कै पहिचान दिलाई दियो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्