विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गर्ने २९ औं अन्तर विद्यालय टेस्टीटेस्टी क्विज प्रतियोगिता बुधबारदेखि सुरू हुने भएको छ।
विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विराटनगर, इटहरी र तरहराका १८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।
पहिलो दिनको खेल बिहान ११ बजेबाट सुरू हुनेछ, जसमा सहिद स्मृति आवासीय स्कूल, कान्तिपुर स्कूल, मोर्डन एरा स्कूल, पाथीभरा सेकेन्डरी, सत्यनारायण स्कूल, र आरम्भ विद्या मन्दिर सहभागी हुनेछन्।
दोस्रो दिन एभरेस्ट स्कूल, सप्तकोशी, स्टार सेकेन्डरी स्कूल, शिक्षा सदन, जेसी बाल सदन, एजलिया स्कूल, र बुढानीलकण्ठ स्कूलका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो दिन तरहरा मोडल एकेडेमी, जनता माद्यामिक देवकोटा पब्लिक सेकेन्डरी स्कूल, बीकेभीएम, जनता माध्यमिक विद्यालय (इटहरी) ,जेम्स इन्टरनेशनल स्कूल, र अरनिको स्कूल सहभागी हुनेछन् ।
सामुदायिक विद्यालयतर्फबाट भने जम्मा दुई विद्यालयले सहभागी रहनेछन । सामुदायिक विद्यालयले शुल्क तिर्न नसकेर विद्यार्थीहरुलाई सहभागी नगराइएको भन्ने गरिएको विराटनगर जूनियर जेसिज संस्थापक अध्यक्ष डा . सन्देश दास श्रेष्ठले बताएका छन्।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः नगद १५,०००, १०,००० र ५,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। तीन दिनका लागि ३ देखि साढे तिन लाख रुपैयाँको बजेट छुट्याइएको यो प्रतियोगिता विद्यालयस्तरमा ऐतिहासिक बन्ने विश्वास आयोजकको छ। सहभागी शुल्क ३१०१ रुपैयाँ तोकिएको यो प्रतियोगितामा प्रत्येक विद्यालयबाट चार विद्यार्थी सहभागी हुनेछन्। कार्यक्रम बुधबार बिहान ११ बजेबाट सुरू हुने आयोजकले जानकारी दिएका छन्।