कश्मीरमा स्थिति सामान्य रहेको सरकारको दाबी, स्थानीय भने समस्यामा रहेको मिडियाको भना

कश्मीरमा स्थिति सामान्य रहेको सरकारको दाबी, स्थानीय भने समस्यामा रहेको मिडियाको भना

एजेन्सी ।  कश्मीरका विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा त्यहाँको स्थिति नियन्त्रणमा रहेको भनाइ आएको छ ।

आधिकारिक बयानका अनुसार, बकरीदको अवसरमा स्थानीय मस्जिदमा ठूलो संख्यामा मानिस भेला भए र नमाज पढे । तर सुरक्षा उपाय अन्तर्गत श्रीनगरका केही अतिसंवेदनशील क्षेत्रमा मानिस भेला हुन प्रतिबन्ध लगाइएको थियो ।

केही भागमा छिटपुट रूपमा दिनहुँ विरोध प्रदर्शन भएका छन् र केही क्षेत्रमा ढुंगा हान्ने काम पनि भयो । प्रहरी र सुरक्षाबलले यी प्रदर्शनहरूलाई तत्कालै नियन्त्रणमा लिए र केही मानिस सामान्य घाइते भएको खबर छ ।

प्रहरी प्रमुख र सैन्य कमान्डरहरूले कश्मीरमा सोमवार हवाई सर्वेक्षण गरेर सबै कुरा व्यवस्थित र सामान्य रहेको दाबी गरेका थिए । प्रहरीले केही मानिसलाई हिरासतमा लिएको कुरालाई पनि सामान्य मान्दै सुरक्षा कारणले त्यसो गरिएको बताएको छ ।

सरकार आफैंले कश्मीरमा मिडिया सेन्टर बनाएको छ र मिडियाकर्मीहरूले फोन र इन्टरनेट प्रयोग गरिरहेका छन् ।

सोमवारै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हवाई सर्वेक्षण गरेका छन् । सरकारले कश्मीर शान्तिपूर्ण रहेको दाबी गरिरहेपनि केही मिडिया रिपोर्टमा कश्मीर अशान्त रहेको बताइएको छ ।

पीटीआईको रिपोर्टअनुसार, कश्मीरमा बकरीद पर्वमा कुनै उत्साह देखिएन । कश्मीरका धेरै भागमा अस्वाभाविक मौनता देखिन्छ । सडकहरू सुनसान छन् र प्रहरी तथा सुरक्षाबलको गाडीको आवाज मात्र सुनिन्छ । कश्मीरीहरू कडा सुरक्षाका बीच उठिरहेका छन् र सुरक्षाबलले उनीहरूलाई कठोर चेतावनी दिँदै घरभित्र बस्न भनेका छन् ।

रोयटर्सको रिपोर्टअनुसार, ‘सयौं मानिस शुक्रवार सोरामा भेला भए अनि भारतविरोधी नारा लगाए । महिलाहरू पनि ठूलो संख्यामा बाहिर निस्केर प्रदर्शन गरे । भाुवक भएका महिलाले आँखामा आँसु भर्दै आफूहरूलाई स्वतन्त्रता चाहिएको बताए । स्थानीयहरूले कश्मीरमा यस्तो किसिमको मौनता पर्वका बेला कहिल्यै नदेखिएको बताए ।’

न्युज एजेन्सी एपीले आफ्नो रिपोर्टमा लेख्यो, ‘स्थानीयहरू रासनको कमी र जरूरी सामानको संकट झेलिरहेका छन् । कश्मीरमा मानिसहरूको आवागमनमा पनि रोक लगाइएको छ र पसलहरू बन्द छन् । कतिपय रोगीहरूसँग आवश्यक औषधि पनि छैनन् ।’

उता न्युयोर्क टाइम्सको रिपोर्टमा दाबी गरिएअनुसार, घरमा थुनिएका कश्मीरीहरू अहिलेको स्थितिबाट चिन्तित र क्रुद्ध छन् ।

विदेशी सञ्चारमाध्यमले कश्मीरका विषयमा प्रकाशित गरेको रिपोर्टमा पनि सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले बीबीसी र अलजजीरासँग कश्मीरमा भइरहेको व्यापक प्रदर्शनसँग सम्बन्धित भिडियो रिपोर्टका विषयमा स्पष्टीकरण माग्यो । सरकारले मिडिया रिपोर्टहरू भ्रामक रहेको बतायो । बीबीसीले चाहिँ भिडियो पुष्टि भइसकेको बताउँदै आफ्नो रिपोर्टमा अडान लियो ।

सरकार र मिडिया रिपोर्टहरूमा विरोधाभास छ । मिडिया रिपोर्टहरूमा औसत कश्मीरीहरूमाझ अहिले रासन, औषधि र अत्यावश्यक वस्तुको अभाव रहेको लेखिएको छ । मोबाइल सञ्चार पनि बन्द छ ।

घरहरूमा समाचारपत्र पनि पुगिरहेका छैनन् । द ट्राइब्युनका अनुसार, स्थानीय पत्रिकाहरूको प्रकाशन कि त बन्द छ, कि त पृष्ठ कम गरिएको छ । सरकारले फोन कल गर्न पनि ठाउँ निश्चित गरेको छ । त्यहाँ फोनमा पालो पाउन मानिसहरूले तीनचार घन्टा प्रतीक्षा गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्