स्वास्थ्य : असुरक्षित गर्भपतन ज्यानै जोखिममा , यस्तो छ नेपालमा अवस्था

स्वास्थ्य : असुरक्षित गर्भपतन ज्यानै जोखिममा , यस्तो छ नेपालमा अवस्था

सीता शर्मा

काठमाडौँ, भदौ ८ गते । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ ।
दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खानुभयो । औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उहाँको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा हुनुहुन्छ ।
बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ । औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ ।

समस्या बढ्दो क्रममा
बिनाको घटना त प्रतिनिधिमूलक मात्रै हो । पढे लेखेकै व्यक्तिले समेत बुझ्दै नबुझी सूचीकृत नभएका औषधि पसल र यससम्बन्धी सामान्य ज्ञानसमेत नभएका औषधि पसलेको सल्लाहमा गर्भपतनका औषधि (कीट) प्रयोग गर्छन् । यसले स्वास्थ्यमा गम्भीर समस्या भोग्ने बिना मात्र होइन । पछिल्लो समयमा धेरै महिला पीडित छन् तर यसको औपचारिक अध्ययन भने भएको छैन ।
गर्भपतन सेवा आवश्यक हो र सुरक्षित गराउनुपर्छ भन्दै वकालत गर्दैआएको संस्था कृपाले यस प्रकारको औषधिको जथाभावी प्रयोगले धेरै महिलाको स्वास्थ्य युवा अवस्थादेखि नै जोखिममा परेको दाबी गर्दैआएको छ । सो संस्थाले दुई वर्ष पहिले सामान्य अध्ययन गर्दा पनि नेपालमा गर्भपतनका लागि १४ प्रकारका औषधि प्रयोग भएको पाइएको जनाएको छ । जबकि सरकारले नेपालमा सुरक्षित रूपमा गर्भपतन गराउनका लागि चार प्रकारका औषधि मात्रै दर्ता गरेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले खुला नाकाबाट जथाभावी रूपमा भिœयाएर ठाउँ–ठाउँमा अनधिकृत रूपमा औषधि बिक्री गरेको सरकारका जिम्मेवार नियमनकारी निकायलाई थाहा हुँदाहुँदै पनि रमिते बनेको आरोप लगाउनुभयो ।

बिनादर्ताका औषधि बजारमा
गर्भपतन र परिवार नियोजनको प्रयोजनका लागि औषधि व्यवस्था विभागकै कर्मचारी र चिकित्सकको मिलेमतोमा अनधिकृत रूपमा औषधि भिœयाएर राजधानीमै खुलेआम बिक्री भएको उहाँको आरोप छ । “दर्ता नै नभएका औषधि छ्यापछ्याप्ती बिक्री भएकोबारे हामीले धेरै पटक औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएका छौँ तर धेरै दबाब दियो भने अनुगमन गरेको जस्तोे गर्ने तर त्यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाही गरिँदैन,” उहाँले थप्नुभयो ।
औषधि व्यवस्था विभागका अनुसार नेपालमा गर्भपतनको प्रयोजनका लागि मेडावन कीट, मेरिफिस्ट कीट, ब्रेकनो कीट र एमटीबी कीटबाहेक अन्य कुनै औषधि दर्ता भएका छैनन् ।
विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले नेपालमा चारैतिर खुला नाका भएकाले गर्भपतन होस् वा अन्य प्रयोजन दर्ता नभएका औषधि बजारमा भित्रिने गरेको स्वीकार गर्नुभयो । उहाँले जहाँ जहाँ नेपालका सिमाना जोडिएका छन् ती ठाउँमा अझै यस्ता अनधिकृत औषधि आउने गरेको पाइएको छ ।
उहाँले विभागमा दर्ता नभएका औषधि नराख्न सबै औषधि पसल, फार्मेसीलाई सूचना गरिरहेको र भर्खरै पनि सूचनामार्फत सबैलाई सचेत गराएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दर्ता नभएका औषधि बिक्री गर्ने कयौँ औषधि पसल बन्द गर्ने काम विभागले धेरै पटक गरेको छ तर पनि यस्ता औषधि लुकिछिपी ल्याउने र बिक्री गर्ने काम भइरहेको छ, त्यसैले अब स्वयम् उपभोक्ता नै चनाखो हुनुपर्छ । ’’
उहाँका अनुसार जथाभावी बिनादर्ताका औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकल सञ्चालकलाई औषधि दर्ता ऐन २०३५ अनुसार कारबाही भइरहेको छ । उक्त ऐनले बिनादर्ताका औषधि बिक्री वितरण गर्नेलाई तीन वर्ष कैद सजाय वा बिगोका आधारमा जरिवानाको व्यवस्था गरेको छ ।

नौ हप्ताको मात्रै गर्भपतन
गर्भपतनमा औजारको विकल्पका रूपमा आएका औषधिले नौ हप्ताभित्रको गर्भलाई मात्रै पतन गराउँछ । औषधि सकेसम्म प्रयोग गर्नुहुँदैन गरिहाले पनि सम्बन्धित तालिम प्राप्त चिकित्सक, नर्स वा अनमीको सल्लाह वा निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ । यो प्रयोग गरेको २४ घण्टाभित्र गर्भपतन हुन्छ । प्रयोगकर्ताले यस्ता चेतावनी गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन ।
परिवार कल्याण महाशाखाका निर्देशक भीमसेन तिनकरीले औषधि होस् वा औजारको प्रयोगबाट गरिने गर्भपतन सेवा आपत््कालीन अवस्थामा मात्र गर्न सकिने र यसलाई परिवार नियोजनको विकल्पमा प्रयोग गर्न नहुने बताउनुहुन्छ । गर्भपतन गराउनुपर्ने अवस्था सिर्जना नै हुन नहुने सल्लाह दिँदै उहाँले भन्नुभयो, ‘‘औषधि होस् वा औजार प्रयोग गरेर होस् एक पटकभन्दा बढी गर्भपतन गराउनु राम्रो हुँदैन । अमृत त धेरै खाए विष हुन्छ भन्ने गरिन्छ भने यो औषधि हो मात्रा मिलाउनुपछ, जथाभावी प्रयोग गर्दा समस्या आउनु स्वाभाविक हो । ’’
त्यसो त तालिम प्राप्त चिकित्सकको सल्लाहमै गर्भपतनको औषधि एक पटक मात्रै प्रयोग गर्नेमध्ये केहीलाई पनि समस्या देखिएको छ । काठमाडौँकै रीता (परिवर्तित नाम) ले पाटन अस्पतालका गर्भपतनसम्बन्धी तालिम प्राप्त चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गरी सात÷आठ हप्ताबीचको गर्भपतन गराउनुभयो । एक सन्तान जन्माउनुभएकी रीताले श्रीमानसँगको सल्लाहबमोजिम उक्त अस्पतालका चिकित्कसको सल्लाहमा गर्भपतन गराउनुभएको थियो । एक वर्षअघि उक्त औषधिको प्रयोगबाट गर्भपतन गराएकी रीताको अचेल नियमित महिनावारी हुँदैन । यसबीचमा दुई पटक मात्रै महिनावारी भयो, त्यो पनि पाँच महिनाको फरकमा । उहाँलाई तल्लो पेट दुख्ने समस्या देखिएको छ । यसको असरले उहाँको नियमित काममा त बाधा पुगेको छ नै मानसिक तनाव पनि ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तिनकरीले सबै औषधिले सबैलाई राम्रो गर्छ नै भन्ने नहुने तर्क गर्नुभयो । उहाँको अनुभवमा धेरैलाई राम्रो गरेका औषधिले एक÷दुई जनामा नकारात्मक इन्फेक्सन गर्न पनि सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिलाखमा एक÷दुई जनालाई जुनसुकै औषधिले सङ्क्रमण (इन्फेक्सन) गर्न सक्छ भनिएको छ । यी औषधि त्यतिकै आएका हुँदैनन् । धेरैमा परीक्षण गर्दा राम्रो परिणाम आएपछि मात्रै प्रयोगमा ल्याइने हो र केहीलाई यिनै औषधिले पनि राम्रो नगर्न सक्छ ।

दशकदेखि गर्भपतन
स्वास्थ्य विभागअन्तर्गतको साविकको परिवार स्वास्थ्य महाशाखाले नेपालमा २०६० साल चैत ५ गतेदेखि औजारको प्रयोगबाट गर्भपतन सेवा सुरु भएको हो । वि.सं. २०५९मा गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि यो सेवा सुरु भएको हो ।
यस्तै, २०६६ सालदेखि नेपालमा औषधिको प्रयोग गरेर गर्भपतन गराउन सुरु गरियो । अहिले गर्भपतनको सेवा देशका ७७ जिल्ला र सातै प्रदेशमा विस्तार भइसकेको छ । महाशाखाका अनुसार दुवै विधिबाट अहिलेसम्म १० लाख जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो सङ्ख्या सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था र यससम्बन्धी तालिम लिएका चिकित्सकले गरेको मात्रै हो । सूचीकृत नभएका चिकित्सक र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ठूलो छ । सो महाशाखाको पछिल्लो अध्ययन अनुसार ४२ प्रतिशतले मात्रै सुरक्षित रूपमा यो सेवा लिएका छन् असुरक्षित रूपमा गर्भपतन गराउने अझै ५८ प्रतिशत छन् ।
औषधिको वैधानिक चेतावनीमा तालिम प्राप्त चिकित्सकको सल्लाहबिना यो औषधि प्रयोग गर्न नहुने र प्रयोग गर्नुपरेको खण्डमा पनि सूचीकृत स्वास्थ्य संस्थाको तालिम प्राप्त चिकित्सकको निगरानीमा रहेर मात्रै सुरक्षित किसिमबाट गर्न सिफारिस गर्न सकिने उल्लेख छ । नौ हप्ताभित्रको र इच्छाविपरीतको गर्भलाई मात्रै औषधिको प्रयोग गरेर तालिम प्राप्त चिकित्सकको निगरानीमा गर्भपतन गर्न सकिने व्यवस्था छ ।
सेवाग्राहीले ध्यान दिनुपर्ने
परिवार कल्याण महाशाखाका अनुसार, नेपालमा औषधि प्रयोगबाट गरिने गर्भपतनको औषधि बिक्रीका लागि ८७० वटा स्वास्थ्य संस्था, अस्पताल वा नर्सिङ होम सूचीकृत छन् । औजारबाट गरिने गर्भपतनका लागि ५९९ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । परिवार कल्याण महाशाखाका अनुसार गर्भपतन सेवालाई सुरक्षित गराउनका लागि अहिलेसम्म एक हजार ७१० अनमी, ७०४ जना नर्स र एक हजार ७३९ जना चिकित्सकले तालिम लिएका छन् । अनमी र नर्सले औषधिबाट गरिने गर्भपतनका लागि सल्लाह दिने काम गर्छ, जुन नौ हप्ताभित्रको हुनुपर्छ ।

औषधिको बढी प्रयोग निषेध
सुरक्षित रूपमा गर्भपतन गराउने औषधि विधि वा औजार विधि दुवैबाट बराबर भए पनि असुरक्षित रूपमा औषधिको बढी प्रयोग भएको चिकित्सक स्वीकार गर्छन् । हाम्रा धर्म र संस्कारले गर्भपतन गराउनुलाई त्यति राम्रो नमानिने हुँदा औषधिको प्रयोगबाट घरमै लगेर गोप्य रूपमा गर्न सकिने भएकाले पनि यसको प्रयोग बढी भएको हुन सक्ने यसका जानकार बताउँछन् ।

मनपरी मूल्य
सरकारले सूचीकृत गरेका गर्भपतनका औषधि प्रतिकीट खुद्रा मूल्य २५० देखि ५०० रुपियाँभन्दा बढी छैनन् तर स्वास्थ्य संस्था र औषधि मागकर्ताको अवस्था हेरेर मूल्य लिने गरेको स्वयम् चिकित्सक नै स्वीकार गर्छन् । प्रतिकीट २५० देखि ५०० रुपियाँ पर्ने औषधि केही अस्पतालले एक हजारदेखि एक हजार पाँचसय रुपियाँसम्म बिक्री गर्ने गरेको स्वयम् परिवार कल्याण महाशाखाका कर्मचारी बताउँछन् ।

अविवाहित बढी
कलङ्कीस्थित जानुका औषधि पसल सञ्चालक विनय मल्लले यस्ता औषधि चिकित्सकको सल्लाह लिएर चिकित्सककै परामर्शमा मात्रै बिक्री गर्ने गरेको दाबी बताउनुभयो । उहाँ गर्भपतनमा प्रयोग गरिने कीट (औषधि) किन्न आउने सेवाग्राहीलाई आफूले कहिले पनि माग्ने बित्तिकै नदिएर सबै कारण बुझेर र सम्बन्धित चिकित्सकलाई सोधेर मात्रै दिने गरेको बताउनुहुन्छ । उहाँको अनुभवमा यस्तो औषधि पछिल्लो समयमा विवाहित महिला मात्र होइन अविवाहिता केटाकेटीले पनि किन्न आउने गरेका छन् ।
गर्भपतनका लागि प्रयोग गरिने औषधि प्रयोग गर्ने प्लस टु र कलेजमा अध्ययनरत विद्यार्थीको सङ्ख्या पनि त्यतिकै बढ्दो छ । यद्यपि, यस्तो औषधि के कति मात्रामा बिक्री वितरण हुने गरेको छ भन्ने तथ्याङ्क कतै पाइँदैन । परिवार कल्याण महाशाखाका प्रजनन् संयोजक डा. पुण्य पौडेलले गर्भपतनका औषधि जहाँ पायो त्यही बिक्री गर्न नपाइने बताउनुभयो । यसका लागि
सम्बन्धित औषधि पसल होस् वा स्वास्थ्य संस्था सूचीकृत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्