विराटनगर । विराटनगर ४ कञ्चनबारीमा सोमबार विहान चारवटा ट्याक्टलाई पिछा गर्दै थियो प्रहरीको भ्यान । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सादा पोशाकका प्रहरी पनि त्यहीँ देखिन्थ्ये । उनीहरु सबैजना ४ वटै ट्याक्टरको निगरानी गरिरहेका थिए । यो गतिबधि देखेका स्थानीय छक्क मानेर उताउती हेर्दै थिए । केही बेरमै सादा पोशाकका प्रहरी ट्याक्टरको अघि अघि र प्रहरीको भ्यान पछि–पछि कंचनबारीबाट तीनपैनीको ठूलो मिल तर्फ लाग्यो । हामी पनि ट्याक्टरको पिछा गर्दै गयौ । आम मानिसहरु ट्याक्टर र प्रहरीको दृष्य देखेर के भएको होला भनेर सोधि खोजी गर्दै थिए । नभन्दै ४ वटै ट्याक्टर केही समय पछि जिल्ला प्रहरी कार्यलय मोरङको मुख्य प्रवेशद्धाराबाट एक पछि अर्को गर्दै भित्र प्रवेश भए । अनि बल्ल थाहा भयो अवैध रुपमा उत्खनन् गरिएका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको रहेछ ।
यस्तो छ पक्राउको कारण
विराटनगर महानगरपालिका ४ इक्राईको केसलिया खोला किनारबाट अवैध रुपमा वालुवा उत्खनन् भईरहेको अबस्थामा प्रहरीले चारवटा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष अनुसन्धान टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा चालक सहित ट्याक्टर नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारवटै ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले को १ त ६२१३, को १ त ५७७४ , मे १ त ६४८५ र को २ त ५०३९ नम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा, माटो, गिटी उत्खनन् गरिरहेको अबस्थामा नियन्त्रणमा लिएको हो ।
असारदेखि भदौ मसान्तसम्म नदीजन्य बस्तु उत्खनन गर्न पाईदैन । तर मोरङमा अबैध रुपमा माटो , बालुवा गिटीहरु खुलेआम तस्कर हुने गरेका भेटिएको छ । तर मोरङ प्रहरी तस्करी नियन्त्रण गरिएको दाबी गर्छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले अबैध उत्खनन् नियन्त्रण गर्ने कामलाई तिब्र पारिएको दाबी गरे ।
मोरङ जिल्लाका विभिन्न खोला तथा नदिबाट खुलेयाम माटो तथा बालुवा उत्खनन गर्ने क्रम तिब्र भएको जानकारी पाएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिने क्रम पनि जारी राखेको छ । मोरङ जिल्लामा साउन महिना यता मात्र अबैध उत्खनन् गर्ने ४६ वटा सवारी प्रहरीले नियन्त्रणमा लिएर स्थानीय पालिकालाई बुझाएकोछ ।यसरी पक्राउ परेका सवारी साधन तथा ब्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिने एसपी अधिकारीले बताए ।
केशलिया खोलामा अबैध उत्खनन्का कारण खोला विराटनगर पस्न थालेपछि खोला उत्खनन्मा रोक लगाउन महानगरपालिकाले अभियान चलाएको भएपनि चोरी तस्करी हुने क्रम रोकिएन । गत असारमा समेत अबैध उत्खनन्का कारण खोला गाउँ पसेको थियो । गत बर्ष समेत बाढी गाउँ पस्दा बिराटनगरका पाँच हजार बढी घरहरु डुवानमा परेका थिए । विराटनगर महानगरपालिकाले अबैध उत्खनन् रोक्नका लागि कामहरु गरेको भएपनि त्यति प्रभावकारी देखिएको छैन । यस अघिपनि विराटनगर महानगरपालिकाले पक्राउ परेका ट्याक्टरहरुबाट प्रति ट्याक्टर ५ हजारको दरले जरिवाना गरेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दाबी गरे ।
असार, साउन र भदौ महिना नदीजन्य बस्तुको उत्खनन् गर्न नपाईने ब्यवस्था छ । अझ यस अघि यही ईक्राहीबाट केशलियाको पुललाई नै जोखममा पार्ने गरी उत्खनन् हुँदै गरेको समेत फेला परेको थियो । खुलेयाम माटो , बालुवा तथा गिटीहरु तस्करी भईरहेको अबस्थामा प्रहरीले बेला बेला पक्राउ गर्ने तर स्थानीय पालिकाहरुले ध्यान नदिनुले अबैध उत्खनन् मौलाएको छ । यसलाई रोक्ने दायित्व सबै सरोकारवालाको हो ।