पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दै

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दै

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दैछ । यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्राविधि मन्त्री फवाद हुसैन चौधरीले गरेका हुन् ।

चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा पाकिस्तानका लागि बन्द गर्ने बारे विचार गरिरहेको जानकारी दिएका छन् । अफगानिस्तानसँग व्यापार गर्न भारतले पाकिस्तानको जमिनको पनि प्रयोग गरिरहेकाले यसमाथि पनि प्रतिबन्ध लगाइने उनले जानकारी दिए । कानूनी औपचारिकता पूरा हुने क्रममा भएकाले यसलाई चाँडै नै कार्यान्वयन गरिने उनले बताए ।

फवाद हुसैन चौधरीले लेखेका छन्, ‘प्रधानमन्त्रीले भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्ण रुपमा प्रतिबन्ध लगाउने बारे विचार गरिरहेका छन् । यसका साथै अफगानिस्तानसँगको व्यापारका लागि भारतले पाकिस्तानी रुटको प्रयोग गर्छ र यसमाथि पनि प्रतिबन्ध लगाउने कुरा मन्त्रीपरिषदको बैठकमा उठेको छ । केही कानूनी औपचारिकता बाँकी छ । यो निर्णय विचाराधीन छ । मोदीले सुरु गरेका छन् र हामी अन्त्य गर्नेछौं ।’

फवादको यो बयान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राष्ट्रको नाममा सम्बोधन पछि आएको हो । इमरानले आफ्नो सम्बोधनमा पाकिस्तान कश्मीरको विषयमा चुप नलाग्ने बताएका थिए ।

यद्यपि, फवाद चौधरीको बयानमाथि भारतमा पाकिस्तानका उच्चायुक्त रहेका अब्दुल बासितले निशाना साँधेका छन् । बासितले ट्वीटरमा लेखेका छन्, ‘यस्ता कुराको निर्णय अघि नै तपाईंले किन सार्वजनिक गरिरहनु भएको छ ? यो मूर्ख राजनीति र लापरवाही कुटनीतिको पहिचान हो ।’

५ अगस्टमा भारतले जम्मू–कश्मीरको संवैधानिक स्वयत्तता समाप्त गर्ने घोषणा गरेको थियो । यो निर्णयले पाकिस्तान रुष्ट छ र यसविरुद्ध संसारको हरेक मञ्चमा विरोध गरिरहेको छ । यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँग व्यवसायिक र कुटनीतिक सम्बन्ध तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्