गरिखानेको कुरा : कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

<span class='c1'>गरिखानेको कुरा : कृषि र</span> <span class='c2'>पशुपालनबाट स्वदेशमै मनग्य कमाइ</span>

गलेश्वर, भदौ ११ गते । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो ।

रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किनुभयो । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उहाँको कुरा काट्न थाले । सरसापट र ऋणसमेत गाउँमा पाउन नसक्ने अवस्था भयो । कसैले पत्याउन छोडे तर गुरुङले हिम्मत हार्नुभएन ।

आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट रु ७० हजार ऋण लिनुभयो । भैँसी किनेर दूध बेच्न थाल्नुभयो । १० वर्ष अघि एउटा भैँसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बन्नुभएको छ । सबै खर्च कटाएर उहाँको मासिक कमाइ रु दुई लाख ५० हजारभन्दा बढी छ ।

विसं २०६७ मा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ पछिल्लो दश वर्षमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकका रुपमा पहिचान कमाउन सफल हुनुभयो । गुरुङको गोठमा अहिले नौवटा दुहुना भैँसी र चार वटा गाई छन् । उहाँले दैनिक ६० लिटर दूध बिक्री गर्दै आएको बताउनुभयो । “दैनिक ६० लिटर दूध बिक्री गरेर मासिक रु एक लाख ४४ हजार कमाइ हुन्छु”, गुरुङले भन्नुभयो । बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ ।

त्यसैगरी गुरुङले भैँसीको अलवा आधुनिक तरिकाले कुखुरापालनसमेत गर्नुभएको छ । अहिले कुखुराको फार्ममा ३० हजार कुखुरा छन् । गुरुङले भन्नुभयो “कुखुराबाट मासिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”, कुखुराको दानालगायत अन्य पारिश्रमिक खर्च कटाउँदा मासिक रु एक लाखभन्दा बढी वचत हुने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाउनुभएको छ । गुरुङको बारिमा रहेका ५०० बढी सुन्तालाका बोटमध्ये ४०० ले फल दिन्छन भने १०० बिरुवा दुई वर्ष अघि लगाउनुभएको हो । सुन्तला बेचेर सिजनमा रु सात लाख कमाउने गरेका गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार वार्षिक रु ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रु ३० लाख बचत हुने गरेको छ । उहाँले कृषिबाट आम्दानी मात्र गर्नुभएको छैन, छोराछोरीलाई इञ्जिनीयरिङसमेत पढाउनुभएको छ । “एउटा छोरालाई बायो मेडिकल इञ्जिनीयरिङ पढाएको छु”, उहाँले भन्नुभयोे, “एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु ।

“रु ७० हजारको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ”, गुरुङले भन्नुभयो । अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु उहाँले भन्नुभयो । कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको बताउनुभयो

स्थानीय दूध र दहीको बजार माग धेरै भए पनि आफूले भने जति उत्पादन गर्न नसकेको उहाँको भनाइ छ । नेपालका अधिकांश मानिसको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको छ तरपनि आम्दानी गर्न नसकेको बेलामा गुरुङले मासिक रु दुईलाख ५० हजारभन्दा बढी कमाइ गरिरहनुभएको छ । स्वास्थ्यको हिसाबले पनि स्थानीय रैथाने गाई भैँसीको दूध राम्रो मानिन्छ ।

अहिले गुरुङ म्याग्दीका कृषकको बीचमा उदाहरणीय बन्नुभएको छ । भँैसी, कुखुरा र सुन्ताला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ । उहाँ उद्यमी कृषकका रुपमा जिल्लामा चिनिनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्