वाशिङटन । बहमासमा कम्तिमा ३० जनाको ज्यान लिएको आँधी डोरिएन अमेरिका प्रवेश गरेको छ । आँधी सम्बन्धी कारणले गर्दा ५ जनाको अमेरिकामा मृत्यु भएको सीएनएनले जनाएको छ । ती मध्ये तीन जनाको फ्लोरिडामा मृत्यु भएको हो । सो आँधीले दुवै क्यारोलाइनामा भारी वर्षा गराइरहेको जनाइएको छ ।
आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको जनाइएको छ । मौसमविद्ले केही क्षेत्रमा निकै खतरा हुन सक्ने जनाएका छन् । यो आँधी बहमासमा आएको भन्दा केही कमजोर भएपनि त्रास फैलिएको छ ।
अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा घटेर अब १०५ किलोमिटरमा झरेको जनाइएको छ । बहमासमा सो आँधी सेप्टेम्बर १का दिन प्रवेश गरेको थियो । त्यहाँ ठूलो मात्रामा क्षति गराएको पाइएको छ । मानिसहरु रोइरहेका दृश्य टेलिभिजनहरुले देखाइरहेका छन् । हजारौं घरमा त्यहाँ क्षति पुर्याएको छ । अमेरिकामा सो आँधी आज शुक्रबारसम्म रहने जनाइएको छ ।
(बीबीसी तथा सीएनएन)