बोइङले स्थगित गर्‍यो ७७७ एक्सको परीक्षण

बोइङले स्थगित गर्‍यो ७७७ एक्सको परीक्षण

न्यूयोर्क (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङले लामो दूरीमा चलाउन बनाएको नयाँ विमान ७७७ एक्सको परीक्षण स्थगित गरेको छ । ७३७ म्याक्सको कारण उत्पन्न संकटबाट बच्ने प्रयास गरिरहेको कम्पनीलाई यो अर्को झट्का भएको विश्लेषण गरिएको छ ।

‘फाइनल लोड’ नामक सो परीक्षणमा अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का निरीक्षकहरूले ७७७ एक्सको प्रमाणीकरण प्रक्रियाको निरीक्षण गर्ने कार्यक्रम थियो । विमानले सामान्य सञ्चालन क्षमता बाहेकको भार र तनाव झेल्न सक्छ कि सक्दैन भनेर सो परीक्षणमा हेरिँदै थियो । विमानमा केही समस्या देखिएकाले परीक्षण स्थगित गरिएको कम्पनीका प्रवक्ताले बताएका छन् । परीक्षणका बेला विमानको ढोका बाहिर निस्किएको यस मामिलाबारे जानकार एक स्रोतले बताएको छ । फाइनल लोड टेस्टिङको बेला यस्तो विरलै हुने स्रोतको भनाइ छ ।

७७७ एक्सको यसै गर्मीयाममा पहिलो परीक्षण उडान गर्ने तय भएको थियो । विमानको इन्जिनमा समस्या देखिएपछि सो उडानकोे मिति सन् २०२० को शुरूसम्म सारिएको थियो । पछिल्लो समस्याले यो मिति थप पछाडि धकेलिने हो कि भन्नेबारे कम्पनीका प्रवक्ताले केही पनि बताउन चाहेनन् । व्यावसायिक उडानमा ल्याउनुअघि उक्त विमानको संरचनात्मक परीक्षण गरिन्छ । यी परीक्षणहरूमा विमानले उत्पादकहरूले अनुमान गरेको ब्रेकिङ प्वाइन्ट तोड्छ । उक्त परीक्षणमा उत्तीर्ण भएन भने विमान नियामकहरूबाट प्रमाणीकरण प्राप्त गर्न असक्षम हुन्छ ।

७७७ लाई विस्थापित गर्न ७७७ एक्स तयार पारिएको हो । यसले ४ सय देखि ४२५ जना यात्रु बोक्न सक्छ । इमिरेट्स लगायत आठओटा एयरलाइन्सले उक्त विमानका अर्डर दिइसकेका छन् । विमानको डेलिभरी भने सन् २०२१ अघि नहुने विज्ञहरूको अनुमान छ । यस विमानले यूरोपेली विमान निर्माता कम्पनी एयरबसको ए३५० सँग प्रतिस्पर्धा गर्नेछ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्