विराटनगर । विकल्प एन अल्टरनेटिभले ‘सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल’ भन्ने विषयमा अनुसन्धान गरि नीति पत्रमा सरोकारवाला निकायकासँग छलफल गरेको छ । कार्यक्रममा .डा.भेष प्रसाद धमलाले फुटपाथ व्यवसायमा आबद्ध मानिसहरु प्राय ग्रामिण क्षेत्रबाट आएर जीविको पार्जनको निम्ति जुटेका हुने र उनीहरुलाई स्पस्ट रुपले परिभाषित गर्नु पर्ने, निश्चित कमाएर खाने ठाउँ तोक्नु पर्ने र कानुन बनाएर अगाडी बढ्न जरुरी रहेको बताए ।
प्रा.डा. अर्जुन बरालले सडक तथा फुटपाथ व्यवसाय संसारको जुनसुकै कुनामा पाइने र अर्थतन्त्रलाइ ठुलो टेवा पुर्याउने व्यवस्था भएकोले यसलाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताए ।
यसैविच आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का गजाधर खतिवडाले विराटनगर लगायत अन्य सहरहरुले फुटपाथ व्यावसाय, सडक ब्यवस्थापन तथा अन्य सवालहरुमा काठमाण्डौले गरेको गल्तीबाट सिक्नुपर्ने र दुरगामी योजनाका साथ अघि बढ्नु पर्ने बताए ।
टोल विकास संगठनका संयोजक राजेश मास्केले फुटपाथ व्यवसाय आवश्यकताको साथै चुनौती पनि रहेको उल्लेख गरे । अनौपचारिक क्षेत्रमा आबद्ध फुटपाथ व्यवसायीहरुले सडक तथा पेटी अतिक्रमण गरी व्यवसाय गर्ने हुँदा उनीहरुलाई प्रत्येक वडामा लाग्ने हटियाको खालि जग्गामा ब्यापार गर्ने बाताबरण मिलाउनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा जिफन्ट प्रदेश न. १ का अध्यक्ष किशोर धमलाले सडक छेउमा खुल्ला रुपले लाग्ने हटियाहरुको कारण धेरै दुर्घटना घट्ने गरेको धारणा व्यक्त गरे ।
गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाईले बिराटनगर महानगरपालिकाले एउटा कमिटि बनाएर कति व्यवसायीहरुलाई कहाँ व्यवसाय गर्न दिने स्पष्ट नीति ल्याउनु पर्ने बताए । विराटनगर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीले सडक तथा फुटपाथ व्यवसायीहरुलाई कारवाही गर्नु अघि उचित व्यवस्थापन गर्ने नीति लिईनु पर्ने बताए ।
इन्सेक बिराटनगरका संयोजक सोमराज थापाले सडकपेटी व्यवसायको बिषय मानब अधिकारको मुद्दा भएको कारण स्थानीय तहले सबै सरोकारवालासंग मिलेर व्यवस्थित गर्ने तर्फ ध्यान दिनु पर्ने उल्लेख गरे । कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गरेका थिए भने प्रस्तुतीकरण विकल्पका अनुसन्धानकर्ता सर्वज्ञराज पाण्डेले गरेका थिए ।