नवरात्रिमा दुर्गाका नौ रूप , यस्तो छ नवरात्रिको कथा

नवरात्रिमा दुर्गाका नौ रूप , यस्तो छ नवरात्रिको कथा

पहिलो दिन : शैलपुत्री
पर्वत अर्थात् शैलकी छोरी भएकीले शैलपुत्री नाम भएको हो । शैलपुत्री पूर्वजन्ममा दक्षकी पुत्री थिइन् र सती नामले प्रसिद्ध भइन् । दुवै जन्ममा शिवसँगै विवाह भयो । दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी शैलपुत्रीको वाहन वृषभ (साँढे) हो ।

दोस्रो दिन : ब्रह्मचारिणी
ब्रह्म अर्थात् तपस्या र चारिणी भन्नाले आचरण गर्ने, यस आधारमा तपस्याको आचरण गर्ने देवी ब्रह्मचारिणी कहलाएकी हुन् । दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएकी देवीको स्वरूप ज्योतिर्मय रहेको उल्लेख पाइन्छ ।

तेस्रो दिन : चन्द्रघण्टा
दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । शिरमा घण्टा जस्तो अर्धचन्द्र भएकाले देवीको नाम चन्द्रघण्टा परेको हो । सिंहवाहिनी, दशभुजा भएकी चन्द्रघण्टालाई शान्तिदायक, कल्याणकारी देवी मानिन्छ ।

चौथो दिन : कूष्माण्डा
ब्रह्माण्डको रचना गर्ने श्रेय कूष्माण्डा देवीलाई प्राप्त छ । त्यसैले यिनलाई आदिस्वरूपा, आदिशक्ति मानिन्छ । अष्टभुजा कूष्माण्डा देवीको निवासस्थल सूर्यमण्डलको भित्री लोकमा रहेको र उनको तेजबाट दश दिशा प्रकाशित भइरहेको शास्त्रमा उल्लेख छ ।

पाँचौँ दिन : स्कन्दमाता
कुमार कार्तिकेयको नाम ‘स्कन्द’ हो । स्कन्दकी आमा भएकीले ‘स्कन्दमाता’ नाम हुनपुग्यो । चार भुजा भएकी स्कन्दमाताको आसन कमल हो भने वाहन सिंह छ । स्कन्दमाताको आराधनाले भक्तजनका लौकिक, पारलौकिक सबै चाहना पूरा हुने जनविश्वास छ ।

छैटौँ दिन : कात्यायनी
महर्षि कात्यायनको तपस्याबाट प्रभावित भई भगवतीले उनको पुत्रीका रूपमा जन्म लिएकीले कात्यायनी नाम परेको हो । चार भुजा, सिंहवाहिनी देवीलाई ब्रह्मा, विष्णु र शिवको तेजोराशि प्राप्त थियो । महिषासुरलाई वध गरेका कारण देवीको एक नाम महिषासुरमर्दिनी पनि रह्यो ।
सातौँ दिन : कालरात्रि
कृष्ण वर्णको भयानक शरीर भए तापनि सधैँ शुभ फल दिने देवी कालरात्रि हुन् । महाकाली, भद्रकाली, भैरवी, रुद्राणी, चामुण्डा, चण्डी, रौद्री झैँ शुभंकारी पनि उनको नाम हो । नकारात्मक ऊर्जालाई विनाश गर्ने देवीका तीन नेत्र, चार भुजा छन् र वाहन गधा हो । आठौँ दिन ः महागौरी
चार हात भएकी, वृषभ तथा सिंहवाहिनी, सन्तापहरिणी देवीको नाम महागौरी हो । महागौरीलाई सेतो रङ प्रिय छ, त्यसैले उनका वस्त्र तथा गरगहना सेतै छन् । सेतो वस्त्रादि मन पराउने भएकीले श्वेताम्बरधरा नामबाट पनि चिनिन्छिन् । महागौरी भक्तजनलाई असत्यको बाटोबाट हटाई सत्यको मार्गमा लगाउँछिन् ।

नवौँ दिन : सिद्धिदात्री
अद्र्धनारीश्वर नामले समेत प्रसिद्ध, चार भुजा, सिंहवाहिनी देवीको नाम सिद्धिदात्री हो । अष्टसिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) प्रदान गर्ने देवीलाई सबै मनोकामना पूर्ण गर्ने शक्ति मानिन्छ ।

महिलालाई दिइने आशीर्वाद
जयन्ती मङ्गला काली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नामले प्रसिद्ध जगत्जननीलाई मेरो नमस्कार छ ।

पुरुषलाई दिइने आशिर्वाद
आयुद्र्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
सौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा (अष्टचिरञ्जीवीमध्ये एक) जस्तो आयु, दशरथको जस्तो सम्पत्ति, रामको जस्तो शत्रुनाश गर्ने सामथ्र्य, नहुषको जस्तो ऐश्वर्य, हावाको जस्तो द्रुतगति, दुर्योधनको जस्तो सम्मान, सूर्यपुत्रझैँ दानी, भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवादी, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति होस् ! माथिका पङ्क्ति ‘मालसिरी’ (मालश्री)को एक अंश हो । नवरात्रिभरि बिहान, बेलुकी गुञ्जिने मालसिरी रागिनी र गीतले वातावरणलाई नै मन्त्रमुग्ध बनाउने गरेको छ । ‘मालसिरी’को परम्परा बाइसे, चौबीसे राज्यकालदेखि चल्दै आएको मानिन्छ ।

बडादशैँ ‘सत्यमेव जयते’को प्रतीक पर्व पनि हो । असत्यमाथि सत्यले विजय गरेको खुसियालीका रूपमा यो चाडको महìव छ । आसुरी÷राक्षसी प्रवृत्तिमाथि दैवीय÷मानवीय भावनाको जित अवश्यम्भावी दर्शाउने बडादशैँ मूलतः सद्भावको चाड हो ।
अन्य कतिपय पर्वझैँ बडादशैँको सम्बन्ध पनि पौराणिक आधारमा रहेको छ । त्रेतायुगमा मर्यादापुरुषोत्तम रामले अन्यायी, अत्याचारी, दुष्ट रावणको वध गरेको हर्षमा बडादशैँ मनाउन थालिएको एकथरी भनाइ छ भने भगवती दुर्गाले आततायी, भ्रष्ट चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तवीज, महिषासुर आदिलाई वध गरी दुनियाँलाई त्राण दिएकीले विजयपर्वका रूपमा बडादशैँ पर्व थालिएको पनि मानिन्छ । नारी शक्तिको महिमागानलाई बडादशैँको ज्यान मान्न सकिन्छ ।

शिवभक्त भए पनि रावण अहङ्कारी थियो । बल र शासनसत्ताको मादमा कसैलाई रत्ति गन्दैनथ्यो । यही घमण्डले उसको अन्त्य गरायो । अन्यथा लङ्केश रावण प्रख्यात पुलस्त्य ऋषिको नाति र विश्रवाको छोरो मात्र थिएन, आफैँमा ठूलो विद्वान् पनि थियो । दश शिर भएकाले रावणको अर्को नाम ‘दशानन’ पनि हो । रावणका दश शिरको प्रतीकात्मक अर्थ रहेको छ । भनिन्छ हामी सबैमा दश शिर अर्थात् दश अवगुण रहेका छन् । तिनबाट बच्न सके मात्र हाम्रो कल्याण हुनेछ । ती शिर हुन्–काम, क्रोध, लोभ, मोह, मद (तुजुक), मत्सर (डाह), अहङ्कार, आलस्य, हिंसा र चोरी ।
बडादशैँमा रामायण सुन्ने, सुनाउने, दुर्गासप्तशती (चण्डी) पाठ गर्ने, देवीका पीठ, मठमन्दिर आदिमा गई पूजाआजा, आराधना गर्ने चलन रहे पनि ठाउँठाउँमा हुने रामलीला र देवीचरित्र प्रदर्शनचाहिँ हराउन थाले । भारतमा समेत रामलीलाको प्रथा घट्दोे छ । तैपनि त्यहाँका सङ्घीय तथा प्रान्तीय राजधानीमा रामलीलाको परम्परा निर्वाह हुँदै आएको छ । दशमीका दिन कुम्भकर्ण, मेघनाद (इन्द्रजित) तथा रावणका ठूलाठूला पुत्ला (भित्रपट्टि पटाका कोचेर) जलाउने गरिन्छ ।

नवरात्रिलाई जप, तप, पूजापाठ, अनुष्ठान, आराधना आदिका लागि महìवपूर्ण बेला मानिन्छ । धर्म, अर्थ, काम तथा मोक्ष यी चार पुरुषार्थमध्ये कुनै पनि कामना लिएर देवदेवीको आराधना गरिँदा यतिखेर छिटो सफलता प्राप्त हुने जनविश्वास छ । प्राचीनकालमा बडादशैँको साइत पारेर युद्धका लागि प्रस्थान गरिन्थ्यो । त्यही प्रथाको स्मृतिसूचक हुनुपर्छ अहिले पनि दशैँघरमा हातहतियारको पूजा गरिन्छ । विवाह आदि माङ्गलिक कार्यका लागि बडादशैँमा साइतै हेर्न नपर्ने चलनसमेत छ ।
बडादशैँलाई धार्मिक÷सांस्कृतिक हिसाबले मात्र होइन, सामाजिक, आर्थिकलगायत विविध दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । सामाजिक तवरमा कृषिप्रधान देशका नागरिकले बाली भिœयाएपछि उल्लासमय पर्वका रूपमा बडादशैँ मनाउनु स्वाभाविक हो । पहिले चैतेदशैँ बढी मनाइन्थ्यो रे । त्यतिखेर प्रायः सुक्खा रहने भएकाले अन्नादिले भरिपूर्ण हुने शारदीय समयलाई अत्युत्तम ठहराइएको हुनसक्छ ।
‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ यो उखानले बडादशैँको आर्थिक तथा सामाजिक पक्षलाई उदाङ्ग बनाएको छ । स–साना केटाकेटीले हातका औँला भाँच्दै “दशैँ आयो, खाउँला–पिउँला, कहाँ पाउँला ?, चोरी ल्याउँला, धत्त पापी म छुट्टै बसुँला !” भाकाबाट यसको आयाम आकलन गर्न सकिन्छ ।

धनी, गरिब जोजस्तो भए पनि वर्षमा एकपल्ट आउने बडादशैँ मन फुकाएरै मनाउने सोचाइ पहिले, अहिले फरक छैन । हुनेखानेका अधिक रवाफ प्रदर्शनले देखासिकीमै भए पनि नचाहिँदो ढर्रा तन्किँदै जानुचाहिँ चिन्ताको विषय बनेको छ । अरूले घोडा
चढ्यो भन्दैमा धुरी नचढ्नु उचित भए पनि एक अर्काको असर हैजा फैलिएझैँ बढ्दो रहेछ । मीठो खाने र राम्रो लगाउने पर्व भएकाले बडादशैँमा शहरबजार भरिभराउ हुन्छन्, चहलपहल निकैै हुन्छ । ठाउँठाउँमा आयोजना गरिने दशैँमेला र सुपथ पसलमा जतासुकै घुइँचो रहने गर्छ । मिसावटखोर, नाफाखोरको चर्तिकला यहीबखत तीव्र हुने भएकाले चनाखो हुनुपर्छ । मेला, उत्सव आदिका नाममा व्यापारी, उद्यमीले साँच्चै छुटसहित सरसामान बेचिरहेका छन् कि भ्रम मात्रै छरेका हुन् ? सम्बन्धित निकाय चुस्त, दुरुस्त हुनसके ठगीको सम्भावना रहँदैन ।
गच्छेअनुसार किनमेल गर्नसके ‘गयो दशैँ ऋण बोकाई’ भन्नुपर्ने छैन । दानदक्षिणामा पनि संयम जरुरी छ । ओढ्नेअनुरूप खुट्टा पसार्नुपर्ने आहान पेटका सवालमा पनि मननीय छ । आफ्नो पाचनक्षमतालाई बेवास्ता गरी हसुरिने चिची–पापाले अस्पताल पु¥याउन सक्छन् । धुत्त भई सवारीसाधन हुइँक्याइँदा कैयन्ले असमयमै मास छर्न जानुपरेको विगतका घटनाप्रति आँखा चिम्लनु बुद्धिमानी होइन । दशँैमा जुवा खेल्नैपर्छ भन्नु पनि जुवाडेको मतानुयायी हुनु मात्र हो । यस्ता केही बेथिति पन्छाउन सकिएमा बडादशैँको रौनक अझै थपिनेछ ।

युवामञ्च असोज २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्