सेतो पुतलीका कारण संखुवासभामा एक जनाकाे आँखाको ज्योति गुम्याे, कसरी चिन्ने पुतली?

सेतो पुतलीका कारण संखुवासभामा एक जनाकाे आँखाको ज्योति गुम्याे, कसरी चिन्ने पुतली?

संखुवासभा - संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्योति नै गुमाइसकेका छन् ।

अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका  स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताउनुभयो । तीमध्ये स्मृतिले आँखाको ज्योति नै गुमाएकी छिन् भने अन्यको उपचारपछि आँखा निको भएको छ ।

सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । याे रोग लागेपछि ४८ घण्टाभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा रहने चिकित्सकहरु बताउँछन् ।

यही राेगका कारण खाँदबारीमा बस्दै आएका माल्टाका खगेश्वर घिमिरेकी छोरी स्मृति घिमिरे आँखाकाे ज्योति नै गुम्याे । सूर्य आवसीय बोर्डिङ्ग स्कुलका उप प्रधानाध्यापकसमेत रहेका खगेश्वरले समयमै उपचार गर्न नलैजानाले छोरीले आँखाको ज्योति गुमाउनु परेको बताउनुभयो ।

उहाँले पछुतो मान्दै भन्नुभयो, ‘छोरी विद्यालयबाट घर फर्किएपछि आँखाको डिल चिलायो भनिन् । हामीले खासै वास्ता गरेनौँ । निकै चिलायो भनेपछि हतार–हतार तेजरत्न आँखा उपचार केन्द्रमा लगेँ । पुतलीको झुस बिझेको पत्ता लागेपछि तिलगंगा अस्पताल, काठमाण्डौ लैजान खोज्दा जहाजको टिकट नपाएपछि भोलिपल्ट पठाइयो । डाक्टरले ढिलो आइपुगेको भन्नुभयो ।’

अहिले स्मृति दाहिने आँखा देख्दिनन् ।

त्यसैगरी सिलिचोङ बालाका स्मृति कुलुङको परिवार खाँदबारी नजिकै बस्छन् । छोरीले बिहान तौलियाले मुख पुछ्दा आँखा चिलायो भनेकाले तुरुन्तै अस्पताल पुर्‍याउँदा डाक्टरले सापु भनेपछि तुरुन्तै काठमाण्डौकाे गंगालाल अस्पताल पुर्‍याएपछि आँखा निको भएकाे स्मृति कुलुङकी आमाकाे भनाइ छ ।

साढे चार दशक अघि पोखराबाटै सापु रोगको सुरुवात

सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पोखराबाटै उत्पति भएको चिकित्सकहरुको दावी छ । नेपालमै पहिलो पटक २०३२ मा १६ वर्षमुनीका बालबालिकामा यो रोग देखिएको थियो । यो रोग डाक्टर मदनकुमार उपाध्यायले पत्ता लगाउनु भएको हो । डाक्टर उपाध्यायले लामो अनुसन्धानपछि यो रोगलाई ‘सापु’ नाम दिनुभएकाे थियाे ।

पोखराबाट बिस्तारै–बिस्तारै यो रोग पूर्वतिर समेत बढेको तेजरत्नका इन्चार्ज बरालको भनाइ छ । उहाँका अनुसार याे राेग लागेमा आँखा अचानक रातो हुँदै जान्छ, नानीमा सेतो दाग देखिन थाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर  हुन्छ ।

हावा र धूलोको कारण ठानेर आफैँ औषधि किनेर हाल्ने गरे र ४८ भन्दा ढिलो गरी अस्पताल पुगे आँखा सधैँका लागि बिग्रने चिकित्सकहरु बताउँछन् । सेतो पुतलीको सिधा संसर्गबाट मात्रै होइन, पर्दा, सिरक, गम्छा तथा झ्यालमा पुतलीको झुस खसको छ भने पनि आँखामा परे यो रोग लाग्ने गर्दछ । सापु सेतो पुतलीका कारण लाग्ने रोग भए पनि के कारण इन्फेक्सन हुन्छ भन्ने पत्ता लाग्न नसकेको चिकित्सहरु बताउँछन्।

कसरी चिन्ने सापु फैलाउने पुतली ?

चिकित्सकहरुका अनुसार सेतो पुतली करिब ३ सय प्रजातिका छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो उज्यालो वस्तु जस्तै बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ ।

पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण यो रोग फैलिने गरेको चिकित्सहरु बताउँछन् । त्यस पुतलीले अण्डा कोरल्ने समयमा झुस छोड्ने र त्यो झुस आँखा पसे आँखा बिग्रने खतरा हुन्छ ।

नागरिकहरुमा जनचेतनाको अभावका तथा मानिसहरुले सापुका बारेमा नबुझेका कारण यसको प्रकोप बढ्दै गएको छ । यसलाई बेलैमा ध्यान नदिए चारैतिर फैलन सक्ने खतरा रहेको चिकित्सकहरुकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्