इलाम । हरियो चिया बगानलाई चिरेर गएको नागबेली सडक। इलाम प्रवेशद्धार जोर कलशबाट करिब १५ किलोमिटर पार गरेपछि आउने कन्याम चियाबारीको दृश्यले कसको मन नलोभ्याउँला र। त्यसमाथि पनि आकाश उघ्रिएको बेला चिया बगान बीचबाट देखिने कञ्चनजंघालगायत हिमश्रृङ्खलाको दृश्यमा नलोभिने को होला र ? असोजदेखि बैशाखसम्म भुल्केघामसँगै वनभोज खान आउनेको लस्करले कन्यामलाई छाड्दैन। मेचीराजमार्गमा हुलका हुल आउने पर्यटकहरुको जमघटले कन्यामको माहोल नै बेग्लै देखिन्छ। सुन्दर चियाबारी नै इलामको पहिचान र समृद्धिको मुख्य आधार बन्दैछ। चियाबगानको बीचबाट देखिने दृश्यमा जिल्ला बाहिरबाट आउने पर्यटकहरुले घण्टौं भुलेको पत्तै पाउँदैनन्।
चियाको राजधानीको नामले चर्चा बटुलेको इलामेहरुले चियालाई आधार नै बनाएर आर्थिक उपार्जनको माध्यम बनाउने पर्याप्त सम्भावना पनि छ। जताततै चियाका बुटाहरु देख्ने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै यात्रीको मन हरियो चियाको बोटले लोभ्याउँछ। सवारीसाधनभित्रै बाटोको दायाबाया तलमाथि जताततै चिया नै चिया देखिँदा जो कोहीको मन फुरुङ्ग हुन्छ। नाङ्गो पाखामा अहिले हरियाली फाँट र बस्ती मात्रै देखिने इलामका आकर्षक चिया प्रशोधन कारखानामा चिया पेलिँदै गरेको आवाज र चियाको मगमग बासनाले हरेकको मन लोभ्याउने गरेको छ। इलाम आएका सबैजसो पर्यटक चियाबारी र चिया कारखाना घुम्न छुटाउँदैनन्। भ्याएसम्म चिया टिपाइ, प्रशोधन प्रक्रिया र यसको ऐतिहासिक पृष्ठभूमि खोतल्ने प्रयास गर्छन्।
यही नै इलामको चिया पर्यटनको मुख्य आधार पनि हो। जिल्लाका दर्जनौं गाउँमा छरिएका किसानले आँगनको डिलसम्मै लगाएको चियाले आम्दानीसँगै इलामको पर्यटनलाई पनि सहयोग पु¥याएको छ। इलामका अधिकांश ठाउँ यस्तो छैन, जहाँ चिया नहोस्। थोरै भए पनि किसानको बारीमा चियाका मुनाहरु लहलहाइ रहेको हुन्छ। गाउँले जीवनशैली र हिमाली सौन्दर्य बेच्ने इलाम चैतदेखि असोजसम्म ‘चियाको बैंस’ले पाहुना तान्छ। यो चियाका मुना पलाउने सिजन पनि हो। तेस्रो मुलुकका पर्यटकहरुको अध्ययनको गन्तव्य बनेको छ इलामका चियाबारी। तेस्रो मुलुकका पर्यटकहरु पल्काउने सन्दकपुरका अतिरिक्त इलामको चिया अध्ययन नै हो। वि.सं. १९२० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना ज्वाइँ इलामका तत्कालीन बडाहाकिम गजरासिंह थापामार्फत चिया रोपण गराएको पाइन्छ। थापाकै नेतृत्वमा वि.सं. १९३२–१९३५ मा इलाम बजारमा आधुनिक चिया प्रशोधन कारखाना निर्माणपछि चिया उत्पादन भई बजारमा आएको थियो। दार्जिलिङमा वि.सं. १८९६ सालमा स्थापना भएको सबैभन्दा पुरानो आलुबारी चिया कमानभन्दा २४ वर्ष मात्र कान्छो छ, इलाम चिया बगान। चीन सरकारबाट वि.सं. १९२० मा पाएको उपहार स्वरुप पाएको चियाको बिउ जङ्गबहादुर राणाले आफ्ना ज्वाइँ गजराजसिंहलाई भौगोलिक बनावट, माटो, हावापानी सुहाउँदो स्थान इलाममा रोप्न लगाए।
दार्जिलिङमा गरिएको चिया खेतीको मनोरम दृश्यबाट प्रभावित भई इलाममा चिया खेतीको प्रारम्भ गरिएको हो। दार्जिलिङको चिया कमानबाट पनि दक्ष कामदारहरु झिकाई सदरमुकाम इलामको १३५ एकड जमिनमा चिया रोपिएको इतिहास छ। चिया खेतीका संस्थापक गजराजसिंह थापा हुन्। तर, चिया खेती अभियानलाई साथ दिने अग्रज सहयोगीबारे प्रामाणिक नाम नभेटिए पनि थापाकै समकक्षी इलाम र दार्जिलिङका हाम्रा पुर्खा थिए भन्ने चर्चा डा. देवी क्षेत्री दुलालले आफ्नो पुस्तक इलामको चिया इतिहासमा उल्लेख गरेका छन्। इलामपछि इलामकै सोक्तिममा चिया रोपण गरियो। वि.सं. १९४० मा सोक्तिममा दोस्रो उद्योग स्थापना भयो। जुन विराटनगर जुट मिलभन्दा ५६ वर्ष पहिले स्थापना भएको हो।
उद्योग र कृषिको इतिहास बोकेको इलामको चिया अहिले तेस्रो मुलुकका पर्यटकहरुका लागि अध्ययनको थलो बनेको छ। यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्न २०१९ सालमा तत्कालीन राजा महेन्द्र आएका थिए। तत्कालीन युवराज वीरेन्द्रले पनि २०२८ सालमा इलाममा महिना दिन बिताएपछि इलामसहित पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र नै घोषणा गरे। वि.सं. २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापनापछि तत्कालीन युवराज वीरेन्द्रले २०२८ साल पुस २१ मा कन्याममा चिया खेती सुरु गराए। २०४१ चैतमा आधुनिक चिया प्रशोधन कारखानाको उद्घाटन राजा वीरेन्द्रले नै गरेका थिए। वीरेन्द्र र ऐश्वर्यले कन्याममा पहिलो–पटक रोपेका चियाका बुट्टा अहिले पनि संरक्षित रहेको प्रदेश सांसद काजीमान कागतेले बताउँछन। उपराष्ट्रपति नन्दबहादुर पुन दुई वर्षअघि इलाम आउँदा चिया बगानको सौन्दर्यबाट मोहित भएको बताएका थिए। उनीजस्तै देशका उच्च पदस्थ व्यक्तित्व पटक–पटक इलामको ऐतिहासिक चियाबारी घुम्न आइरहन्छन्। नेपालमा पछिल्लो संरचनाअनुसार तीन तहका सरकार गठन भई तीनै तहका सरकारले चिया क्षेत्रलाई प्राथमिकता दिएका छन्। नेपाली चियाको राजधानी इलामका सबै स्थानीय तहका किसानले चियालाई व्यवसायिक रुपमा खेती गरेको छन्। नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चियाखेतीलाई अझ व्यवसायिक बनाउन इलामका सबै स्थानीय तहले रोपण, उत्पादन र बजारीकरणमा लगानी बढाउनुपर्ने देखिन्छ। चीन र जापानमा उत्पादन हुने चिया ‘टि टेस्टिङ्ग सेरोमनी’को रुपमा लोकप्रियता भएको छ। संस्कृतिका रुपमा चिया विकसित हुँदै गइरहेको छ। चिया अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएको छ। ठूला मिटिङ, सभा, गोष्ठिमा टि–ब्रेकका रुपमा चिया पिउने गर्दछौं।
यसले गर्दा चिया एउटा अलग्गै संस्कार सभ्यता हुँदै चिया पर्यटनमा प्रवेश गरेको छ। पहाडको चिसो हावा, चिया बगानको हरियाली, चिया मजदुरको दिनचर्या र इलामे चिया संस्कृति पर्यटकका लागि आकर्षणको केन्द्र हुन्। चियाबारी वरिपरि नै रहेका देशकै लोपोन्मुख लाप्चासहित, थामी, मगर, गुरुङ, लिम्बू, राई, नेवारलगायत समुदायको परम्परा र संस्कृतिले पनि पर्यटकलाई आनन्द दिन्छन्। चियाको विषय अध्ययन गर्ने विद्यार्थीका लागि त इलाम आउनैपर्ने गन्तव्य हो, तराईको गर्मीबाट उम्किन पनि झापाबाट डेढ घण्टामै चिसो कन्याम चियाबारी आउन सकिन्छ। चियाको हरियाली र सौन्दर्यताले पर्यटकहरु मात्र होइन चलचित्रकर्मीहरुको मन पनि जित्न सफल भएको छ। दर्जनौं चलचित्रहरुको दृश्य कन्याम र अन्तुका बगानले धानेको छ।
चलचित्र निर्देशक उज्वल घिमिरे इलामलाई फिल्म सिटीको उपमा दिन्छन्। उनले भने, ‘इलाम फिल्म सिटीको सम्भाव्यता बोकेको क्षेत्र हो। यहाँका बगानले धेरै सिनेमाकर्मीहरुको मन मस्तिष्कलाई तानेको छ।’ विकासराज आर्चायले निर्देशन गरेको नाइ नभन्नु ल ५ को धेरै जसो दृश्य इलाममा खिचिएका छन्। अहिले म यस्तो गीत गाउँछु २ को इलाममा सुटिङ केही दिनअघि सम्पन्न भयो। ४० को दशक यता धेरै चलचित्रहरु इलामा सुटिङ गरिएको छ। यसर्थ इलामको चिया पर्यटनबाट चलचित्र क्षेत्रले समेत फाइदा उठाएको छ। इलामले सौन्दर्यलाई इतिहासविद् युद्धप्रसाद वैद्य नकुदिएको हिराको उपमा दिन्छ। उनकै शब्द सापटी लिएर भन्ने हो भने ‘इलाम नकुदिएको हिरा हो यसलाई कुद्न शिल्पीको खाचो छ।’ ननि ढकाल, थाहा खबर