सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै

सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै

सोलुखुम्बु, कात्तिक १९ गते ।

हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । सदरमुकाम सल्लेरीबाट करिब सात किलोमिटर टाढा रहेको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा रहेको प्रसिद्ध ज्वालामाई देवीको मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या गत वर्षको तुलनामा करिब २० प्रतिशतले बढेको हो ।

विगतका वर्षहरूमा धेरै दिन पैदल यात्रा गरेर पनि ठूलो सङ्ख्यामा मानिस आउने गरेकामा केही वर्षयता सदरमुकामसम्म सडक पुगेपछि दोब्बरले पर्यटकको वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अहिले मन्दिरसम्म नै सडक जोडिएको र दुईवटा मोटरेबल पुलसमेत निर्माण भएकाले हिउँद वर्षा नै दर्शनार्थीको आवतजावत भइरहने ज्वालामाई देवी मन्दिर व्यवस्थापन समितिका सचिव भाइकाजी पुलामी मगरले बताउनुभयो ।
पछिल्लो समय सोलुखुम्बुमा कार्यालयको कामले भ्रमणमा आउने अधिकांश उच्च पदस्थ नेता तथा कर्मचारीको पनि रोजाइमा परेको छ । मन्दिरमा पुग्न सल्लेरीसम्म सडक मार्ग वा फाप्लु विमानस्थलमा हवाइजहाजको प्रयोग गरी आउन सकिन्छ । यस मन्दिरमा हरिबोधनी एकादशीदेखि पञ्चमीको दिनसम्म मेला लाग्ने र पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ तर पछिल्लो समय वर्षभरि नै दैनिक रूपमा आउने जानेको क्रम बढिरहेको स्थानीय बताउँछन् ।

चौबीसै घण्टा मन्दिरको ढोका खुला रहने र वर्षभर दैनिक १० जनादेखि ५० जनासम्म पर्यटक आउने गरेका छन् । त्यस क्षेत्रका स्थानीय व्यापारी, होटल व्यवसायी तथा अन्य व्यक्तिका लागि समेत आयआर्जनको गतिलो माध्यम बनेको मन्दिरको मेलाको सिजनमा अधिकांशले १० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । अन्य समयमा पनि नियमित आम्दानी गरिरहेका हुन्छन् ।

मेलाको समयमा मात्र २० हजारभन्दा बढी दर्शनार्थी आउने र मन्दिरमा नगद, सुन, चाँदी र तामाका सामग्री गरी करिब १५ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ भने करिब ४० लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको सचिव मगरले जानकारी दिनुभयो ।

मन्दिरमा ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, दोलखा, उदयपुर, रामेछापलगायत टाढाटाढाबाट समेत भक्तजनहरू आउने गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा पुजारी वीरबहादुर रेग्मी मगरले बताउनुभयो । उहाँका अनुसार नेपालका सबै जिल्लाका र पर्यटकीय सिजनमा विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
दर्शनार्थीले मन्दिरमा भाकल पूरा भएपछि चढाउने सुनचाँदीलाई सङ्कलन गरी पुजारी तथा व्यवस्थापन समितिले सुनको मुकुट, जन्तर, तिलहरी, नाग, हारीलगायतका गहना बनाएका छन् । मेलाका बेला गहना लगाउन विशेष विधि रहेको छ । गहनाले सजिएको डोलीलाई बोकेर भजन, धामीझाँक्रीको नृत्य र सयौँ दर्शनार्थीको जयजयकारसहित गहनाघरबाट मन्दिरसम्म पु¥याएर विधिपूर्वक पुजारीले देवीको सम्पत्तिका रूपमा देवीलाई लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्