-रोशन कुमार मण्डल
विगत दिनहरूमा कुम्भ मेलाको बारेमा धेरै कुराहरू सुन्दै आएको थिएँ। विशेषगरी त्यहाँ हराएका मानिसहरू पनि कुम्भ मेलामै भेटिन्छन् भन्ने रोचक किंवदन्तीहरू सुनेको थिएँ। १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेलाको महत्व र विशेषता बारे थाहा पाएपछि त्यहाँ जाने मेरो उत्साह झनै बढ्यो।
यो अद्भुत अवसरलाई सदुपयोग गर्न मैले तीनजना साथीभाइसँग योजना बनाएँ। बिहीबार, ९ गते अफिसबाट बिदा लिएर १० गते यात्राको तयारी थालेँ। बिहान ४ बजे नै उठेर नित्यकर्म सकेर घरको देवी-देवताको पूजा गरी जोगबनी रेलवे स्टेशनतर्फ लागेँ। त्यहाँबाट ट्रेन चढेर दानापुर पुगेँ, जहाँ मिठो चिया खाँदै केही आराम गरेर फेरि प्रयागराजतर्फ प्रस्थान गर्यौं।
टेम्पु मार्फत हामी दिउँसो ४ बजेतिर प्रयागराजको प्रसिद्ध संगमघाटमा पुग्यौं। त्यहाँको दृश्य अविश्वसनीय थियो - हजारौं श्रद्धालुहरूको भीड, सबैको अनुहारमा आध्यात्मिक आनन्दको चमक। चिसो मौसम भएपनि पवित्र स्नानको उत्साहले कसैले चिसोको परवाह गरेको देखिएन।
हामी चारजना दुई-दुई समूहमा विभाजित भई स्नानका लागि संगमतिर लाग्यौं। गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा डुबकी लगाउँदा अद्भुत आध्यात्मिक अनुभूति भयो। पानी चिसो भएपनि आस्थाको उष्णताले त्यो बिर्सिएझैं लाग्यो। स्नानपश्चात् केही स्मृतिचिह्न फोटोहरू खिचेर हामी प्रयागराज जंक्शनतर्फ लाग्यौं।
बिहानी सूर्योदयसँगै मानिसहरूको भीड झनै बढ्दै गयो। लाखौंको संख्यामा उमलिएको जनसागर देख्दा म स्तब्ध भएँ। पहिले टेलिभिजनमा देखेको र प्रत्यक्ष अनुभव गरेको दृश्यको वास्तविकता एउटै रहेछ भन्ने महसुस भयो। कतिपयले भीडको कुरालाई अतिशयोक्ति ठान्थे, तर वास्तविकता भिन्नै रहेछ।
महाकुम्भको पवित्र स्नानपश्चात् हामी प्रयागराज जंक्शनबाट वाराणसीतर्फ लाग्यौं। वाराणसीमा नेपाली धर्मशालामा बास बसी प्रसिद्ध काशी विश्वनाथ मन्दिर दर्शन गर्न गयौं। ऐतिहासिक असी घाटको भ्रमण गर्दै विश्वप्रसिद्ध गंगा आरतीको अलौकिक दृश्य निहाल्यौं। आरतीको समयमा मनमा छाएको दिव्य शान्ति अवर्णनीय थियो।
वाराणसीको विशेषता भनेकै यहाँको चिया र पान हो। स्थानीय चिया पसलमा चिया र पानको स्वाद लिँदा मन प्रफुल्लित भयो। भोलिपल्ट बिहान ६ बजे नै काशी विश्वनाथ मन्दिर पुगेर पूजा-आराधनामा सामेल भयौं। करिब तीन घण्टाको प्रतीक्षापछि मन्दिर प्रवेश गर्न सफल भयौं।
मन्दिर परिसरमा फोटो खिच्न प्रतिबन्ध भएपनि एक रोचक घटना भयो। त्यहाँ दुईजना भारतीय सेनाका जवानहरूले नेपाली भाषामा कुराकानी गरिरहेको सुनेर हामी छक्क पर्यौं। सोधपुछ गर्दा थाहा भयो, उनीहरू पनि नेपाली रहेछन्। यो संयोगले हाम्रो यात्रालाई अझै स्मरणीय बनायो।
यसरी महाकुम्भ मेला र काशी विश्वनाथको दर्शनको यो यात्राले मेरो जीवनमा एउटा अविस्मरणीय अध्याय थपेको छ। आध्यात्मिक चेतना र सांस्कृतिक सम्पदाको यो अनुभव सधैंभरि स्मरणीय रहनेछ।