भारतको विवादित नक्साका बारेमा जताततै विरोध, पाकिस्तानले यस्तो भन्यो !

भारतको विवादित नक्साका बारेमा जताततै विरोध, पाकिस्तानले यस्तो भन्यो !

भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ ।

नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षरकर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।

नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा विरोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।

पाकिस्तानले के भन्यो ?
भारतको नयाँ नक्सामा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय बन्दै आएको जम्मु–कश्मीरलाई भारतले आफ्नो भूभागका रुपमा समेटेको छ । जम्मु–कश्मीर विवादका बारेमा भारत र पाकिस्तानका फरक धारणा रहँदै आएको अवस्थामा भारतले जम्मु–कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ खारेज गरी केन्द्र शासित प्रदेशका रुपमा नयाँ नक्सामा समेटेको छ । यस अतिरिक्त पाकिस्तान अधिनस्थ कश्मीरलाई पनि भारतले आफ्नो नक्सामा समेटेको छ ।

पाकिस्तानले भारतको सो कदमप्रति कडा आपत्ति जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको नक्सा ‘त्रुटिपूर्ण’ र कानुनी रुपमा ‘अपुष्ट’ रहेको जिकिर गरेको थियो ।

संयुक्त राष्ट्र सुरषा परिषदको प्रासंगिक प्रस्तावको विरुद्ध हुने गरी भारतले जारी गरेको नक्सालाई पाकिस्तानले अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘भारतको राजनीतिक मानचित्रलाई पाकिस्तान खारेज गर्दछ’ भनिएको छ । संयुक्त राष्ट्रसंघको नक्सा अनुरुप भारतको नक्सा नरहेको पाकिस्तानको भनाइ थियो । ‘भारतको कुनै पनि कदमले जम्मु र कश्मीरको विवादित स्थितिलाई परिवर्तन गर्न सक्दैन जसलाई संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको छ,’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्