जनकपुर–जयनगर रेल सेवा : क्षतिग्रस्त लिकको पुनर्निर्माण करीब ४ महीनापछि शुरू

जनकपुर–जयनगर रेल सेवा : क्षतिग्रस्त लिकको पुनर्निर्माण करीब ४ महीनापछि शुरू

काठमाडौं । गत असारको बाढीले क्षतिग्रस्त जनकपुर–जयनगर रेलको खजुरी र इनर्वा स्टेशनबीचको लीक पुनर्निर्माणको काम करीब चार महीनापछि शुरू भएको छ । गत असार २८ गते कमला नदीमा आएको बाढीले खजुरी र इनर्वा स्टेशनबीचको २०० मिटर लामो लिक बगाएको थियो ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्र्तगत भारतीय  सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेलमार्ग शुरूमा भदौ र त्यसपछि कात्तिकभित्र सञ्चालन गर्ने विभागले दाबी गरेको थियो । तर, बाढीले लिक बगाउँदा र रेलसेट तयार नहुँदा रेलसेवा शुरू हुन नसके पनि आगामी दुई महीनाभित्र रेल सञ्चालन आउने दाबी विभागको छ । विभागका महानिर्देशक बलराम मिश्र बनिसकेको लिकलाई बाढीले क्षति पु¥याएको तथा रेलसेट बनाउने समय पनि निर्धारित समयभन्दा लम्बिएकाले रेल सेवा सञ्चालनमा ढिलाइ भएको स्वीकार्छन् । उनका अनुसार बाढीले क्षतिग्रस्त रेल लिकको पुनर्निर्माणको काम गएको बिहीवारबाट मात्रै शुरू भएको छ ।

‘गत मंगलवार भारतले काम शुरू गर्ने पत्र पठाएको भए पनि काम भने बिहीवारदेखि शुरू भएको छ,’ उनले बताए । भारतीय पक्षले डेढ महीनाभित्र काम पूरा गरिसक्ने सो पत्रमा उल्लेख गरेको मिश्रको भनाइ छ । यस रेलमार्गको निर्माण भारतीय कम्पनी इरिकोनले गरिरहेको छ । बाढीले क्षतिग्रस्त लिकको पुनर्निर्माण पनि उसैले गर्न लागेको विभागले बताएको छ ।

विभागका अनुसार रेलसेवा सञ्चालनका लागि आवश्यक दुई रेल सेटको निर्माणको काम भारतको चेन्नईमा अन्तिम चरणमा पुगेको छ । जीटूजी प्रक्रियाबाट डिजेल इन्जिन मल्टिपल युनिट इन्जिन प्रयोग भएका यी रेलसेट खरीद गर्नका लागि सरकारले भारतको कोन्कन रेलवे कर्पोरेशन लिमिटेडसँग गत वैशाख २७ गते खरीद सम्झौता गरेको थियो । सम्झौताअनुसार नेपालले यी दुई रेल सेटका लागि रू. ८४ करोड ८६ लाख खर्च गर्दै छ ।

सम्झौताअनुसार कोन्कनले १ हजार ६०० अश्वशक्तिका दुई ओटा इन्जिन र तीनओटा यात्रुवाहक डब्बा गरी ५ डिब्बाका दुई रेल सेट नेपाललाई उपलब्ध गराउनेछ । प्रत्येक यात्रुवाहक डिब्बामा ५०० यात्रुले यात्रा गर्न सक्नेछन् । हाल भारतको चेन्नईस्थित इन्ग्रिेटेड कोच फ्याक्ट्रीमा यी रेलसेट निर्माण भइरहेका छन् । विभागका अनुसार एउटा रेलसेट बनेर रंगरोगनको काम भइरहेको र अर्कोको निर्माण अन्तिम चरणमा पुगेको निर्माता कम्पनी कोन्कनले बताएको छ । क्षतिग्रस्त लिकको पुनर्निर्माणलगत्तै जयनगरदेखि कुर्थासम्म रेलसेवा सञ्चालनमा आउनेछ ।

विभागका अनुसार जनकपुर–जयनगर रेल सेवा सञ्चालनको जिम्मा नेपाल रेलवे कर्पोरेशन प्रालिलाई दिइनेछ । मिश्रले केही दिनमै रेलसेटको निर्माणको पछिल्लो अवस्थाको जानकारी लिन नेपाली अधिकारीहरू भारत जाने जानकारी दिए ।

शुरूमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने विभागको तयारी छ । उक्त खण्डमा ८ ओटा स्टेशन हुनेछन् । उक्त रेललाई आगामी दिनमा जनकपुरदेखि बर्दिबास (६९ किमि) सम्म जोड्दै पूर्वपश्चिम रेलमार्गसँग जोड्ने योजना विभागको छ ।

शुरूवाती चरणमा भारतीय प्राविधिकले नै रेल सञ्चालन गर्ने विभागले बताएको छ । यद्यपि आगामी २ वर्षभित्र नेपाली प्राविधिक उत्पादन गरी नेपाली प्राविधिकद्वारा नै रेल सञ्चालन गरिने तयारी विभागले गरिरहेको विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्