निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हुदै

निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हुदै

काठमाडौँ, कात्तिक २८ गते । सरकारले ल्याएको प्रभावकारी कार्यक्रमका कारण जन्मदेखि पाँच वर्षसम्मका बालबालिकाको निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हँुदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २००१ को स्वास्थ्य सर्वेक्षणभन्दा सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा निमोनियाबाट मृत्यु हुने बालबालिकामध्ये ५७ प्रतिशत कमी आएको छ ।

परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले सो तथ्याङ्कले नेपालमा निमोनियाका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको जानकारी दिनुभयो ।
निमोनियाबाट हुने मृत्यु घटाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको चर्चा गर्दै उहाँले खोप, पोषण तथा निःशुल्क उपचार कार्यक्रमले समेत निमोनियाबाट बालबालिकाको मृत्युदरमा कमी आएको स्पष्ट पार्नुभयो । वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले २० वर्षअघि र अहिलेको तुलना गर्दा निमोनियाबाट मृत्यु हुने सङ्ख्यामा धेरै कमी आएको बताउनुभयो । उहाँले निमोनिया घटाउनका लागि सरकारी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

यसैबीच विश्व निमोनियाको अवसर पारेर परिवार कल्याण महाशाखाले आयोजना गरेको कार्यक्रममा एक प्रतिशत बालबालिका कुनै न कुनै खोपको पहुँच बाहिर रहेको बताइएको छ । खोप शाखाका प्रमुख डा. गौतमले विश्वमा आठ लाख बालबालिकाको मृत्यु हुने गरेको जानकारी दिँदै तीमध्ये १६ प्रतिशत निमोनियाको कारणले मृत्यु हुने बताउनुभयो ।
गरिबीको चपेटामा परेका बालबालिका, समूहमा बस्ने बालबालिका बढी जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । सरकारले बाल स्वास्थ्यको लागि जम्मा चार अर्ब रुपियाँ बजेट छुट्याएको छ । निमोनियाका कारण हुने मृत्युदर घटाउनका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको भन्दै उहाँले वैशाख महिनालाई पूर्ण खोप महिना घोषणा गर्ने र त्यस अवधिभर खोपको पँहुच बाहिर रहेका बालबालिकालाई खोजेर खोप लगाउने
गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्