मधुमेह : बुढेसकालमा मात्रै हैन बालबालिका तथा युवामा पनि

मधुमेह : बुढेसकालमा मात्रै हैन बालबालिका तथा युवामा पनि

सरोज ढुङ्गेल

काठमाडौँ, कात्तिक ३० गते । चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कँदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहँुजसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्छन् । दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिका पनि वीर अस्पतालको मधुमेह एकाइमा आउने गरेका छन् ।
यसले देखाउँछ अब चिनी रोग सबै उमेरका मानिसमा नछोड्ने रोग बनिसकेको छ । वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले दुई वर्षको बालकलाई समेत मधुमेह भएको जानकारी दिँदै मधुमेह उमेर वृद्धिसँंगै हुन्छ भन्ने गलत धारणा फैलिरहेको बताउनुभयो । उहाँले ३० वर्ष कटिसकेपछि अनिवार्य मधुमेह भए नभएको परीक्षण गर्न सुझाव दिनुभयो । केही दिन पहिले मैतीदेवी घर भएका एक १४ वर्षीय किशोर मधुमेह लागेर उपचारमा वीर अस्पतालमा आउनुभएको थियो ।
उहाँ नियमित चिकित्सकको निगरानीमा हुनुहुन्छ । ९५ किलो तौल भएका १४ वर्षीय किशोर मधुमेहको औषधि सेवन गर्न थालेको दुई वर्ष भइसक्यो । तर उहाँको त तौल घट्न सकेको छ न मधुमेह नै नियन्त्रणमा आउन सकेको छ ।
ती किशोर मात्र मात्र होइन वीर अस्पतालमा दुई वर्षका बालकसम्म मधुमेह लागेर आउने गरेको डा. मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मधुमेह लाग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि हँुदै गएको छ । उमेर ढल्कँदै गएका मात्र होइन, बालबालिकादेखि युवासम्मलाई मधुमेहले सताउन थालेको छ । गलत खानपान र सहरी जीवन मधुमेहको प्रमुख कारण बन्दै गएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मानिसको शरीरमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने बताउनुभयो । उहाँले मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा पहिलो चरणमा आँखामा समस्या र त्यसपछि मिर्गौलामा असर पार्ने जानकारी पनि दिनुभयो । डा. श्रेष्ठका अनुसार, पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने मधुमेहका प्रमुख लक्षण हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा चार प्रतिशत जनसङ्ख्यामा मधुमेह रहेको छ ।
मधुमेह रोग विशेषज्ञ डा. मल्लले टाइप एक र टाइप दुई गरी मधुमेह दुई प्रकारका हुने जानकारी दिनुभयो । टाइप एक कम उमेरमा देखिन्छ भने टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुन्छ । टाइप दुई मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।
वरिष्ठ मधुमेह रोगविशेषज्ञ डा. ज्योति भट्टराईले कतिपय परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको बताउनुभयो । उहाँले मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
डा. भट्टराईले बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको जानकारी दिनुभयो । उहाँले धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने भन्दै मधुमेहबाट जोगिनसके मिर्गौला रोग, मुुटुरोग, आँखालगायतका रोगबाट बच्न सकिने बताउनुभयो । वातावरणीय प्रभाव, जङ्कफुड खाने बानी, सहरीकरण खानाको तरिका नमिल्ने, मोटोपन नै मधुमेह लाग्ने मुख्य कारकतìव रहेको डा. भट्टराईको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेहको समस्या छ । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि हुनसक्ने बताउनुभयो । उहाँले अधिकांश मधुमेह रोगीहरूलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्