सावधान : आगो ताप्न जाने उपयोगी नजाने काल

सावधान : आगो ताप्न जाने उपयोगी नजाने काल

देवबहादुर कुँवर

काठमाडौँ, पुस १ गते । चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् । विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट, भुस र दाउरा
बालेर सुत्दा अक्सिजनको अभावमा निसास्सिएर सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन् ।

सोमबार राति पनि कीर्तिपुरमा यस्तै दुःखद घटना भएको छ । कीर्तिपुरको सुन्दरबजारमा कोठा तताउन कोइला बालेर सुतेका आमाछोराको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा स्थानीय नवराज रञ्जितकारकी श्रीमती शर्मिला र दुई महिनाका छोरा छन् । सुत्केरी श्रीमती र शिशुलाई साँझ कोइलाको रापमा सेकाइसकेपछि कोठालाई तातो पार्न मकलमा कोइला बालेर सुत्दा निसास्सिएर आमा र छोराको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । श्रीमती र शिशुलाई खाटमा सुताई नवराज आफू भुइँमा सुत्नुभएको थियो ।
बिहान भुइँमा खसेको ओढ्ने ओढाउन उठ्दा श्रीमती र छोरालाई अचेत अवस्थामा भेट्टाएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा पनि बचाउन सक्नुभएन । दुवै जनाको मृत्यु भइसकेको थियो । यस्तै दुःखद घटना यसअघि गोँगबु मित्रनगर र कुलेश्वरमा भइसकेका छन् । मित्रनगरमा पनि कोठाभित्र मकल बालेर सुत्दा आमा र चार महिनाको शिशु बेहोश अवस्थामा फेला परेका थिए । आमा बाँच्न सफल भए पनि शिशुले ज्यान गुमाए ।

नेपाल प्रहरीका अनुसार प्रत्येक वर्ष नवजात शिशु र आमा गरी एक सयभन्दा बढीको अकालमै ज्यान जाने गरेको छ । कोठामा आगो बाल्ने र कोठा तातो हुन्छ भन्दै झ्यालढोका थुनेर सुत्ने गर्दा अकालमै ज्यान जाने गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्नुहुन्छ, “कङ्क्रिटबाट निर्मित साँघुरो घर तथा कोठामा दाउरा, कोइला र ब्रिकेट बालेर सुत्नु आत्महत्या गर्नुजस्तै हो । आगो बालेर सुते पनि झ्याल र भेन्टिलेसन पूरै खुला राख्नुपर्छ । ”
त्यस्तै आगोका कारण निसास्सिएर मृत्यु हुने मात्र नभई आगलागी हुने समस्या पनि त्यत्तिकै हुन्छ । साँझ शिशु तथा आमालाई सेकताप गर्न बालेको आगो निभाउन र धुवाँ निस्कन छाडेपछि सुत्न उहाँको सुझाव छ ।
वरिष्ठ चिकित्सक महेन्द्र विष्टका अनुसार उचित तरिकाले आगोको प्रयोग गर्न सके जीवन उपयोगी, नजाने काल हुने गरेको छ । कोठा तताउन वा न्यानो पार्न दाउरा, कोइला, गुइँठा, ब्रिकेट र भुस (काठको धुलो) आदि बाल्ने गर्छौं । मट्टितेल, ग्याँस र बिजुली हिटर बाल्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, “यस्तो अवस्थामा झ्यालढोका बन्द गर्नु हँुदैन । बाहिरबाट कोठाभित्र अक्सिजन छिर्ने अवस्था हुनुपर्छ । झ्यालढोका बन्द गरी सुत्दा ज्यानै जान्छ ‘सेकताप’ गर्दा पनि झ्याल खुला राख्नुपर्छ । ”

उहाँले सामान्य लापरबाहीका कारण यस्तो दुर्घटना हुने गरेको जानकारी दिनुभयो । घरकोठा बन्द राखी आगो बाल्दा धुवाँ तथा तापका कारण विषालु ग्यासको मात्रा बढ्न जान्छ । अक्सिजन जाने बाटो बन्द भएसँगै विषालु ग्याँसको मात्रा बढ्न गई सुतिरहेको अवस्था मृत्यु हुन्छ ।
खासगरी गर्भवती, सुत्केरी महिला, बच्चा र ज्येष्ठ नागरिकलाई बढी असर पार्ने गरेको छ । रक्तअल्पता, मुटु, श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू पनि छिटो प्रभावित हुन्छन् । प्रहरीले सुत्केरी तथा शिशु सेक्ने र कोठा तताउने नाममा झ्यालढोका बन्द नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्