नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु

मनिला, पुस ७ । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ ।

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरुमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए ।

बिरामी भएकामध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।

रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरु सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाइ छ ।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्री–वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् ।

पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाइ छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्