एजेन्सी, १४ पुस । भारतमा अत्याधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु भएको छ । चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको हो ।
२२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँको मौसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो । उत्तर प्रदेश अझै पनि शितलहर चलिरहेकाे छ ।
यता, चिसोले दिल्लीमा नयाँ रेकर्ड बनाएको छ । दिल्लीमा लगातार १२ दिन चिसो भएको छ । यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलोपटक हो ।
यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ । फाँटमा तापक्रम १६ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।