भारत। भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ। बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो।
मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले यसको पुष्टी गरेका छन्। ज्यान गुमाउने २५ वर्षीय अर्जुनको घर गोरखाको रिप गाउँमा छ। अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय भारतीय सावन्त नायक पदमा कार्यरत रहेका बताइएको छ।
ठूलो संख्यामा रहेका आतंकवादीको आक्रमणमा दुवैले सँगै ज्यान गुमाएका हुन्। सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।