सप्तरीका दाजुभाईबीच राष्ट्रियसभामा प्रतिष्पर्धा

सप्तरीका दाजुभाईबीच राष्ट्रियसभामा प्रतिष्पर्धा

देवरामप्रसाद यादव
सप्तरी, पुस २० गते । राष्ट्रियसभा सदस्य पदका लागि सहौदर दाजुभाई यस पल्ट पनि प्रतिष्पर्धी बन्नुभएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि आइतबार राजपाबाट उम्मेदवारी मनोननयनपत्र दर्ता गराउनुभएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्रकुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका अनिरुद्धप्रसाद सिंह यादव सहोदर दाजुभाई हुनुहुन्छ ।

सहोदर दाजुभाईबीच यसअघि वि.सं.२०७० सालको संविधानसभा निर्वाचनमा पनि भिडन्त भएको थियो । त्यतिबेला दाजु मृगेन्द्र तत्कालिन मधेशी जनअधिकारी फोरम (लोकतान्त्रिक) बाट र भाई अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बन्नुभएको थियो ।
भाई अनिरुद्ध भन्दा बढी मत ल्याउनुभएका मृगेन्द्र काँग्रेसका उम्मेदवार सुरेन्द्र यादवसँग झिनो मतले पराजित हुनुभएको थियो ।
एकै परिवारका दाजुभाई विभाजित भई चुनाव लड्दा मत विभाजन भई काँग्रेसलाई फायदा पुग्ने भन्दै समर्थकले दाजुभाईलाई एउटै क्षेत्रबाट एकअर्का विरुद्ध चुनाव नलड्न सुझाव समेत दिएका थिए । तर, दुबैजनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण तथा उहाँहरु आवद्ध पार्टीले पनि सोही क्षेत्रबाट चुनाव लड्न भनेपछि दाजुभाई एकअर्का विरुद्ध चुनावी मैदानमा होमिनुभएको थियो ।

तर दुबै मध्ये कसैले पनि जीत हात पार्न सकेनन् भने अहिले ६ वर्षपछि एकपटक फेरि चुनावी मैदानमा दाजुभाई आमने सामने हुुनुभएका छ । यसपटक मृगेन्द्र राजपाका तर्फबाट र उहाँका भाई अनिरुद्ध समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
राजपा नेपालले राष्ट्रियसभामा दुई सीटका लागि नेकपासँग सहकार्य गरेपछि सो पार्टीका तर्फबाट उम्मेदवार बनेका मृगेन्द्र र अर्का उम्मेदवार शेखर सिंहको जीत लगभग सुनिश्चित ठानिएको छ । तर, समाजवादी पार्टीले पनि काँग्रेससँग सहकार्य गर्दै उम्मेदवारी दिएकाले तथा केही मत क्रस भोटिङ हुन सक्ने प्रबल सम्भावना रहेकाले समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध र अर्का उम्मेदवार रामपृत पासवानलाई पनि कमजोर ठान्न नमिल्ने एकथरीको भनाइ छ ।

प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । जसका प्रमुख उपप्रमुख गरी २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरी कुल ३ सय ७९ मतदाता छन् । जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभा तर्फ ५७ र स्थानीय तहतर्फ १ सय २७ मत गरी १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेशसभातर्फ ४९ र स्थानीय तहतर्फ १ सय ३३ मत गरी १ सय ८२ मत रहेको छ । यस्तै नेपाली जनता दलको २ र संघीय समाजवादी पार्टीको एक मत रहेको छ ।
क्रस भोटिङ, खरीद विक्रीलगायतका राजनीतिक खेल नभए राजपा–नेकपा गठबन्धन उम्मेदवारको जीत लगभग सुनिश्चित मानिन्छ ।
राष्ट्रियसभाका १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिंदैछ । संविधान अनुसार सदस्य पद रिक्त हुनु भन्दा ३५ दिन अघि निर्वाचन भइसक्नुपर्छ । सोही व्यवस्था अनुसार माघ ९ मा निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्