वसिंगटन । इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ । इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीले भने, ‘सहिद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्… अहिले उनको मृत्यु भएको छ ।’
सुनेमानीको शवयात्रामा सहभागीहरू भएका लाखौं सर्वसाधारणले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा चर्को नाराबाजी गरेका थिए । ‘उनलाई (सुलेमानीे) जनताको सेवा गर्न तत्पर महापुरुष मानिन्थ्यो…। उनको हत्याको प्रतिशोध लिनैपर्छ,’ एक १८ वर्षीय विद्यार्थीले भने । सोमवार सर्वोच्च नेता आयतूला अलि खामनेईले तेहरानमा सुलेमानीको शवयात्रामा प्रार्थना गरेका थिए । उनलाई सुलेमानीको शवपेटिकामा आँशु झार्दै गरेको देखिएको थियो ।
इरानको सरकारी टेलिभिजनले दशौं लाख मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएको जनाएको छ । मानिसहरूको भिड अन्तरिक्षबाट खिचिएको तस्बिरमा पनि देखिएको छ ।
इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो । त्यसयता सो समूह एउटा महत्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ । कूड्स फोर्स आईआरजीसी अन्तर्गत छ । उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ ।
झन्डै ५ हजार जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो । उनले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको थिए ।